होमपेज » समाचार » श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल खारेज

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल खारेज

बुधबार, २३ चैत्र २०७८, १४:४८

कोलम्बो। श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरि लगाइएको सङ्कटकाल खारेज गर्नु भएको छ ।

 

 

यही अप्रिल ५ को मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्। आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नारावाजी गरेपछि सरकारले देशव्यापी सङ्कटकालको घोषणा गरेको थियो ।

 

 

“सार्वजनिक सुरक्षालाई ध्यान दिँदै लागू गरिएको सङ्कटकाल हटाउने निर्णय भएको छ,” राष्ट्रपति राजापाक्षेले भन्नुभयो । आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा सरकारका कारण सङ्कट उत्पन्न भएको भन्दै सुरु भएको आन्दोलन अझै पनि जारी छ ।

 

 

प्रशासनिक सङ्कटकाल खारेज गरिएपनि स्वास्थ्य सङ्कटकाल भने कायमै रहेको अधिकारीहरूले जनाएका छन् । देशभरि औषधीको अभाव भएको, थप ल्याउन नसकिएको र स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या भएकाले स्वास्थ्य सङ्कटकाल लगाउनु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।

-रासस