जापान । आगामी २०७९ माघ ८ गते (जनवरी २२) सोनाम ल्होसारको अवसर पारेर नेपाल तामाङ समाज, जापान केन्द्रीय समितिले आयोजना गर्न लागेको ‘सोनाम ल्होछार बृहत सांस्कृतिक साँझ–२०२३’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
पछिल्लो समय अध्ययन र रोजगारीका लागि जापान जाने नेपालीको संख्या ठूलो रहेको छ । नेपालीहरुको बाक्लो उपस्थिति रहेको जापानको राजधानी टोकियोमा तामाङ समाजले तामाङ समुदायको प्रमुख चाड ल्होछार धुमधामका साथ मनाउन लागिएको हो । तामाङ समुदायको प्रतिनिधित्व गर्दै विदेशमा रहेका नेपालीहरुलाई एकताबद्ध गर्ने, नेपालको संस्कृतिलाई विश्वमा चिनाउने, नेपालीहरुलाई अपनत्व गराउने र यस पर्वको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले २८५९औं सोनाम ल्होछार तावार ल्हो ( बिरालो वर्ग) भव्य रुपमा मनाउने तयारी गरेको हो ।
उक्त बृहत सांस्कृतिक साँझमा गीतसंगीत तथा नृत्यलगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुति हुनेछ । कार्यक्रममा नेपालबाट चर्चित कलाकार विशाल काल्तान र रमला पाख्रिनको उपस्थिति रहनेछ । साथसाथै जापानमा रहेका नेपाली कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहनेछ । जापानमा रहेका तामाङ तथा अन्य नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुनका निम्ति आयोजकले अनुरोध गरेको छ ।










