काठमाडौँ, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका सातै प्रदेशमा सप्ताहव्यापी रूपमा सञ्चालन गरेको ग्लोबल मनी विक २०२६ भव्य रूपमा सम्पन्न गरेको छ। चैत २ देखि ८ गतेसम्म ‘स्मार्ट मनी टक्स २०२६’ मूल नाराका साथ चलाइएको यस अभियानमार्फत बैंकले करिब ६ हजार सर्वसाधारण र लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेको हो।
बैंकले आफ्ना १०८ वटा शाखा कार्यालयमार्फत विभिन्न समुदाय, युवा र विद्यार्थीहरू माझ वित्तीय साक्षरता फैलाएको छ। कार्यक्रमको क्रममा कोशी प्रदेशको विराटनगर, बिर्तामोड, दमकदेखि मधेश प्रदेशको वीरगञ्ज, जनकपुर र राजविराजसम्म वित्तीय सचेतनामूलक कार्यशालाहरू सञ्चालन गरिएको थियो।
त्यसैगरी, बाग्मती प्रदेशको काठमाडौँ उपत्यका, चरिकोट, हेटौँडा र सिन्धुली, गण्डकी प्रदेशको पोखरा, दमौली र बागलुङ, लुम्बिनी प्रदेशको बुटवल, घोराही र तुलसीपुर, कर्णालीको जुम्ला, सुर्खेत र डोल्पा तथा सुदूरपश्चिमको अत्तरिया र बझाङ लगायतका क्षेत्रमा अभियान चलाइएको थियो। सहभागीहरूलाई वित्तीय व्यवस्थापनको महत्त्व, डिजिटल कारोबार गर्दा सावधानी अपनाउने तरिका, नगद लेनदेनमा बैंकिङ्ग प्रणालीको प्रयोग र रेमिट्यान्सको सही तरिका सम्बन्धी प्रशिक्षण दिइएको थियो।
बैंकले यस अभियानमार्फत बैंकिङ्ग प्रणालीलाई मजबुत बनाउनुका साथै भावी पुस्तामा वित्तीय चेतनाको विकास हुने विश्वास लिएको जनाएको छ।










