होमपेज » समाचार » मध्यपूर्व सङ्कट, युद्धविरामको सङ्केत लगत्तै इजरायलमाथि इरानको क्षेप्यास्त्र वर्षा, ‘गोप्य वार्ता’ को दाबी तेहरानद्वारा अस्वीकार

मध्यपूर्व सङ्कट, युद्धविरामको सङ्केत लगत्तै इजरायलमाथि इरानको क्षेप्यास्त्र वर्षा, ‘गोप्य वार्ता’ को दाबी तेहरानद्वारा अस्वीकार

मंगलवार, १० चैत्र २०८२, १६:०४

काठमाडौँ  । मध्यपूर्वमा शान्ति स्थापनाको झिनो आशा पलाएको केही घण्टामै इरानले इजरायलतर्फ पुनः नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि यस क्षेत्रको तनाव नयाँ उत्कर्षमा पुगेको छ। एकातर्फ कूटनीतिक वार्ता र सहमतिका चर्चा चलिरहेका छन् भने अर्कोतर्फ सैन्य आक्रमण नरोकिँदा परिस्थिति थप जटिल बन्दै गएको हो।

ट्रम्पको दाबी र इरानको खण्डन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका विषयमा ‘गोप्य र अत्यन्तै सकारात्मक’ वार्ता भइरहेको दाबी गर्नुभएको थियो। उहाँले पाँच दिनभित्र सहमतिमा नआए इरानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी समेत दिनुभएको छ। ट्रम्पको यो भनाइसँगै विश्व बजारमा केही सकारात्मक प्रभाव पर्दै अस्थिर रहेको तेलको मूल्यमा थोरै गिरावट आएको थियो। तर, तेहरानले भने अमेरिकासँग कुनै औपचारिक वा गोप्य संवाद नभएको स्पष्ट पार्दै ट्रम्पको दाबीलाई ‘बजार प्रभावित पार्ने प्रोपोगान्डा’ को सङ्ज्ञा दिएको छ।

कूटनीतिक दौडधुप: पाकिस्तानमा भेटवार्ताको चर्चा अमेरिकी पक्षले इरानी उच्च तहका अधिकारीहरूसँग कुराकानी भइरहेको सङ्केत गरे पनि ह्वाइट हाउसले यसको औपचारिक पुष्टि गरिसकेको छैन। यद्यपि, इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र अमेरिकी प्रतिनिधिहरू स्टिभ विटकफ तथा जारेड कुशनरबीच पाकिस्तानमा भेटवार्ता हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसै सन्दर्भमा, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग टेलिफोन संवाद गर्दै क्षेत्रीय शान्तिका लागि आवश्यक सहयोग गर्न आफ्नो देश तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ।

इजरायलको अडान: ‘सैन्य कारबाही रोकिन्न’ कूटनीतिक सहमतिको प्रयास भइरहेको चर्चा चले पनि इजरायल भने आक्रामक मुद्रामै देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रिय सुरक्षालाई सर्वोपरि राख्दै इरान र लेबनान (हिजबुल्लाहविरुद्ध) मा जारी सैन्य कारबाही नरोकिने स्पष्ट पार्नुभएको छ। हालसम्म प्राप्त सैन्य सफलतालाई कूटनीतिक लाभमा बदल्ने रणनीतिमा इजरायल रहेको विश्लेषकहरूको बुझाइ छ।

मैदानको अवस्था र ऊर्जा सङ्कटको जोखिम मङ्गलबार बिहानै इरानले इजरायलको उत्तरी क्षेत्रमा लक्षित गर्दै नयाँ क्षेप्यास्त्रहरू प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्। यसबाट इजरायलका केही भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति भने नभएको बताइएको छ। उता, इजरायलले पनि लेबनानको दक्षिण बेरुतमा लगातार हवाई आक्रमण गर्दै स्थलगत कारबाहीलाई तीव्र पारेको छ।

यस द्वन्द्वको असर विश्व अर्थतन्त्रमा प्रत्यक्ष रूपमा पर्न थालेको छ। इरानले रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ होर्मुज’ जलडमरूमध्यमार्फत हुने तेल आपूर्तिमा प्रभाव पारेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च विन्दुमा पुगेको थियो। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यो सङ्कट अझै लम्बिएमा विश्वले ऐतिहासिक ऊर्जा सङ्कटको सामना गर्नुपर्ने गम्भीर चेतावनी दिएको छ। समग्रमा, कूटनीतिक टेबलमा शान्तिका प्रयास अघि बढेको दाबी गरिए पनि युद्धमैदानमा बारुदको गन्ध नहट्दा मध्यपूर्वको भविष्य झनै अनिश्चित बनेको छ।