एजेन्सी । कोलम्बियाको दुर्गम अमेजन क्षेत्रमा एउटा सैन्य यातायात विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जना सैनिकले ज्यान गुमाएका छन्। कुल १२८ जना सवार रहेको उक्त विमान उडान भरेको केही बेरमै खसेको थियो। घटनामा ५७ जनालाई जीवितै उद्धार गरिएको छ भने ४ जना सैनिक अझै बेपत्ता छन्।
पुतुमायो प्रान्तको पोर्टो लेगुइजामो (पेरु र इक्वेडरको सीमा क्षेत्र) नजिकै यो भयानक दुर्घटना भएको हो। कोलम्बियाली वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाका अनुसार विमानस्थलबाट उडेको करिब दुई किलोमिटरको दुरीमै विमानमा प्राविधिक गडबडी आएर खसेको अनुमान गरिएको छ। दुर्घटनाग्रस्त विमान ‘हर्कुलस सी–१३०’ मोडलको हो, जुन अमेरिकाले सन् २०२० मा कोलम्बियालाई उपलब्ध गराएको थियो।
रक्षामन्त्री पेद्रो सान्चेजले दिएको जानकारीअनुसार विमानमा ११५ जना सैनिक, ११ जना चालक दलका सदस्य र दुई जना राष्ट्रिय प्रहरी अधिकारी सवार थिए। फौजलाई पुतुमायोको अर्को क्षेत्रमा स्थानान्तरण गर्ने क्रममा यो अकल्पनीय घटना भएको हो।
स्थानीय उपमेयर कार्लोस क्लारोसले स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्य गरिएको बताएका छन्। सीमित स्वास्थ्य पूर्वाधारका कारण घाइतेहरूलाई प्राथमिक उपचारपश्चात् थप उपचारका लागि विशेष विमानमार्फत राजधानी बोगोटालगायतका सुविधायुक्त अस्पतालमा पठाइएको छ। मृतकका शवहरू हाल स्थानीय शवगृहमा राखिएका छन्।
कुनै आक्रमणको सङ्केत छैन कोलम्बियाली सशस्त्र बलका प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटोले सेनाले निकै ठूलो क्षति व्यहोर्नु परेको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्। प्रारम्भिक अनुसन्धानले दुर्घटनामा कुनै पनि विद्रोही वा अवैध सशस्त्र समूहको संलग्नता नरहेको स्पष्ट पारेको छ।
उड्डयन विश्लेषक एरिक सौमेथले विमानको मर्मतसम्भार राम्रोसँग हुँदै आएकोले उपकरणको अभावले दुर्घटना भएको सम्भावना कम रहेको बताएका छन्। उनले उड्नेबित्तिकै इन्जिन किन फेल भयो भन्ने विषय नै मुख्य अनुसन्धानको पाटो हुनुपर्ने औंल्याएका छन्।
राजनीतिक आरोप–प्रत्यारोप यस घटनाले कोलम्बियाको सुरक्षा संयन्त्र र सैन्य तयारीमाथि गम्भीर प्रश्न उठाएको छ। राष्ट्रपति गुस्ताभो पेट्रोले घटनाप्रति दुःख व्यक्त गर्दै सैन्य उपकरणलाई तत्काल आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले प्रशासनिक ढिलासुस्ती गर्ने अधिकारीहरूलाई जवाफदेही बनाउने चेतावनी समेत दिएका छन्।
अर्कोतर्फ, विपक्षी दलहरूले भने सरकारको नीतिको आलोचना गरेका छन्। सेनाको बजेट कटौतीका कारण पर्याप्त उडान अभ्यास हुन नसकेको र अनुभवहीन चालक दलका कारण जोखिम बढेको उनीहरूको आरोप छ। दुर्घटनास्थलबाट सार्वजनिक भएका दृश्यहरूमा बाक्लो कालो धुवाँको मुस्लो उडिरहेको र स्थानीयहरू आगो निभाउन तथा घाइतेलाई मोटरसाइकलमार्फत अस्पताल लैजान सङ्घर्ष गरिरहेको देखिन्छ। यस घटनाले सिङ्गो कोलम्बियालाई यतिबेला गहिरो शोकमा डुबाएको छ।










