काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले ‘सानिमा इक्विटी फण्ड–२’ का इकाईहरू आगामी बैशाख २४ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्ष अवधिको बन्दमुखी (Close-ended) प्रकृतिको हुनेछ। निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख इकाई (कुलको १३ प्रतिशत) कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेडका लागि सुरक्षित गरिएको छ भने २० लाख इकाई (२ प्रतिशत) योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ।
लगानीकर्ताले यस फण्डमा बैशाख २९ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा सम्पूर्ण इकाई बिक्री नभएमा आवेदन दिने म्याद जेठ ७ गतेसम्म लम्ब्याइनेछ। आवेदन दिँदा न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
उक्त फण्डको रेटिङका सन्दर्भमा क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कोष प्रवर्द्धकलाई ‘CARE-NP A- (Issuer Rating)’ प्रदान गरेको छ भने इक्रा नेपालले योजना व्यवस्थापकलाई ‘ICRA NP AMC Quality 3+’ रेटिङ दिएको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ। यस फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।










