काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार विकास तथा मानव सेवा जस्ता विविध क्षेत्रमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।
बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा सञ्चालन भइरहेको “दश लाख वृक्षारोपण तथा संरक्षण अभियान” अन्तर्गत पृथ्वी दिवसको अवसरमा खप्तड छेडेदह गाउँपालिका–१, काँडामा २,००० वटा कागतीका बिरुवा रोपणका लागि आर्थिक सहयोग गरेको छ। यस कार्यक्रमको उद्देश्य हरियाली विस्तार गर्नु, स्थानीय खाद्य सुरक्षा सुदृढ गर्नु, दिगो स्रोत उपयोग प्रवर्द्धन गर्नु तथा दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा रोजगारी सिर्जनामा सहयोग पुर्याउनु रहेको बैंकले जनाएको छ।
त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम र उपचारबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा संकलित रकम कान्ति बाल अस्पतालको क्यान्सर वार्डलाई हस्तान्तरण गर्न बैंकले आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा बाँके जिल्लास्थित श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरी अध्ययन–अध्यापनमा सहयोग गरेको छ। साथै, युवाहरूमा जिम्मेवार वित्तीय व्यवहार, सचेतना र व्यवहारिक आर्थिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सातौं नेपाल इकोनोमिक ओलम्पियाडलाई पनि आर्थिक सहयोग गरेको छ।
यसैगरी, बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा देशभरका विभिन्न शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्याली तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। यी कार्यक्रमहरूले वित्तीय पहुँचभन्दा बाहिर रहेका लक्षित समूहलाई समेट्ने प्रयास गरिएको बैंकले जनाएको छ।
बैंकले यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। “सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालय रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरू रहेका छन्।










