होमपेज » आर्थिक » एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री पोर्टल सञ्चालनमा, यस्ता छन् उपलब्ध सेवा

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री पोर्टल सञ्चालनमा, यस्ता छन् उपलब्ध सेवा

शुक्रबार, १ जेष्ठ २०८३, १४:२०

काठमाडौं । NIC Asia Bank ले बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिसम्बन्धी सम्पूर्ण सूचना तथा विवरण सहज रूपमा प्राप्त गर्न सकिनेछ। ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गर्न सक्नेछन्।

NIC Asia Auction Assistance Portal मा लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको स्थान पहिचानका लागि गुगल म्यापसहितका विवरण उपलब्ध गराइएको बैंकले जनाएको छ।

त्यस्तै, ग्राहकहरूले आफूले खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी लिन चाहेमा सम्बन्धित सम्पत्तिको विवरणमा रहेको म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर तथा सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ।

बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी सूचना नियमित रूपमा प्रकाशन गरिने जनाएको छ। बैंकले इच्छुक ग्राहकहरूलाई पोर्टलमार्फत सम्पत्तिको विस्तृत विवरण अध्ययन गरी लाभ लिन आग्रह गरेको छ।