होमपेज » हेडलाइन » राष्ट्रिय सभाकी उपाध्यक्ष भण्डारी र चिनियाँ नेता पेङबीच सिंहदरबारमा भेटवार्ता: ‘एक चीन नीति’प्रति नेपालको प्रतिबद्धता दोहोरियो

राष्ट्रिय सभाकी उपाध्यक्ष भण्डारी र चिनियाँ नेता पेङबीच सिंहदरबारमा भेटवार्ता: ‘एक चीन नीति’प्रति नेपालको प्रतिबद्धता दोहोरियो

मंगलवार, १२ जेष्ठ २०८३, १५:२२

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रका जनसरकार उपाध्यक्ष झाओ पेङबीच मंगलबार सिंहदरबारमा औपचारिक शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका अवसरमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, व्यापारिक साझेदारी, पर्यटन, कृषि, ऊर्जा विकास तथा अन्तरसंसदीय सहकार्यका विविध आयाममा विस्तृत छलफल भएको थियो।

छलफलका क्रममा उपाध्यक्ष भण्डारीले नेपाल र चीनबीचको ऐतिहासिक तथा प्रगाढ मित्रता शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त र आपसी सम्मानमा आधारित रहेको उल्लेख गर्नुभयो। उहाँले ‘एक चीन सिद्धान्त’प्रति नेपालको अटल प्रतिबद्धता रहेको प्रस्ट पार्दै नेपाली भूमि चीनको अहित हुने कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने विश्वास दिलाउनुभयो।

सिजाङ क्षेत्रसँगको बढ्दो सहकार्यको प्रशंसा गर्दै उपाध्यक्ष भण्डारीले व्यापार, पर्यटन र ऊर्जाका क्षेत्रमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। चीनसँगको समग्र व्यापारमा सिजाङले मात्रै करिब एक तिहाइ हिस्सा ओगटेको प्रसङ्ग उहाँले जोड्नुभएको थियो। तथ्याङ्कअनुसार सन् २०२५ को पहिलो ६ महिनामा मात्रै नेपाल र सिजाङबीच २ अर्ब १९ करोड युआन बराबरको व्यापार भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २२.१ प्रतिशतले बढी हो।

त्यसैगरी, गत वर्ष (सन् २०२५ को जुन महिनामा) ल्हासामा सम्पन्न ‘नेपाल–सिजाङ आर्थिक तथा व्यापार सहजीकरण समिति’को १३औँ बैठक फलदायी रहेको र यसै वर्ष काठमाडौंमा १४औँ बैठक आयोजना गर्ने तयारी भइरहेको जानकारी उक्त भेटमा गराइएको थियो। साथै, नेपालको धुलिखेल नगरपालिका र चीनको अली प्रिफेक्चरबीच कायम भएको मितेरी (भगिनी) सम्बन्धले दुई देशको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाएको भन्दै उपाध्यक्ष भण्डारीले खुसी व्यक्त गर्नुभयो।

अन्तरसंसदीय सम्बन्धका सन्दर्भमा सन् २०२२ मा नेपालको प्रतिनिधिसभा र चिनियाँ राष्ट्रिय जनकांग्रेसबीच सम्पन्न समझदारी एक महत्त्वपूर्ण कोसेढुंगा भएको उहाँले स्मरण गर्नुभयो। आगामी दिनमा संघीय संसद्‌मा ‘नेपाल–चीन संसदीय मैत्री समूह’ गठन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।

अन्त्यमा, सिजाङ क्षेत्रले पूर्वाधार, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारमा मारेको फड्कोले नेपालका लागि समेत नयाँ आर्थिक सम्भावना र अवसरहरूको ढोका खोल्ने विश्वास उपाध्यक्ष भण्डारीले व्यक्त गर्नुभयो।