होमपेज » हेडलाइन » प्रधानमन्त्री शाहद्वारा युरोपेली संघका राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता

प्रधानमन्त्री शाहद्वारा युरोपेली संघका राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता

मंगलवार, १२ जेष्ठ २०८३, १५:२५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूका आवासीय तथा गैरआवासीय राजदूत एवं कूटनीतिक नियोग (मिसन) प्रमुखहरूसँग महत्त्वपूर्ण कूटनीतिक छलफल गर्नुभएको छ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार मंगलबार बिहान काठमाडौंमा उक्त सामूहिक भेटवार्ता सम्पन्न भएको हो। यस छलफलमा काठमाडौंस्थित मिसन प्रमुखहरूका साथै भारतको नयाँ दिल्लीमा रहेर नेपाल मामिला हेर्दै आएका ईयू सम्बद्ध देशका गैरआवासीय राजदूतहरूको समेत सहभागिता रहेको थियो।

भेटका अवसरमा प्रधानमन्त्री शाहले नेपाल सरकारका वर्तमान नीति, विकासका एजेन्डा तथा राष्ट्रिय प्राथमिकताहरूबारे युरोपेली कूटनीतिज्ञहरूलाई विस्तृत रूपमा अवगत गराउनुभएको थियो। त्यसैगरी, नेपाल र युरोपेली संघबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र आपसी सहकार्यका नयाँ आयामहरू विस्तार गर्ने विषयमा संवाद केन्द्रित रहेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाह पछिल्लो समय कूटनीतिक भेटघाटमा सक्रिय रहँदै आउनुभएको छ। यसअघि गत चैत २५ गते पनि उहाँले नेपालमा रहेका विभिन्न मित्रराष्ट्रका राजदूत तथा अन्तर्राष्ट्रिय कूटनीतिक नियोगका प्रमुखहरूसँग यसैगरी सामूहिक भेटघाट तथा अन्तरक्रिया गर्नुभएको थियो।