सर्लाही । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सर्लाहीका सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ । नेपाल सरकारको निर्देशनअनुसार सीमा नाका बन्द गरेर नेपाल–भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको छ । सरकारले प्रदेश–२ महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको थियो । केही दिनदेखि मलंगवा नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पनि बन्द गरिएको छ ।
नेपालबाट भारत जान खोज्नेलाई नेपालतर्फ नै रोक्ने र भारतबाट नेपालतर्फ आउन खोज्नेलाई भारततर्फ नै रोक्ने गरी दुई देशका सुरक्षा अधिकारीबीच सहमति भएको सशस्त्र प्रहरी बल १० नम्बर हेडक्वार्टर सर्लाहीका प्रमुखले बताए । आवतजावत रोक्न जिल्लाको ५१ किलोमिटर भारतीय खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो गस्ती बढाएपछि सीमाबाट हुने आवतजावत नियन्त्रण सम्भव भएको छ ।










