काठमाडौं । अब हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाभाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने बताएको छ ।
सीडीसीद्वारा जारी कोरोनाभाइरस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण हुनसक्ने उल्लेख छ । संक्रमित व्यक्तिले श्वास फेर्दा भाइरसयुक्त ओसिला कणहरु हावामा छाड्ने र ती कण हावामै केही समय जीवित रहन सक्ने भएकाले हावामार्फत कोरोना सर्ने सो केन्द्रले जनाएको छ । यसरी हावामा आएका संक्रमित कणहरु केही मिनेटदेखि केही घण्टासम्मै हावामा जीवित रहन सक्ने उसको भनाइ छ ।
खुला ठाउँमा ६ मिटरको दूरी राखेर मास्क लगाई बस्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना कम हुने भए पनि यदि बन्द कोठाभित्र संक्रमित व्यक्ति १५ मिनेटभन्दा लामो समय रहेको छ भने संक्रमण हावामा समेत मिसिन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।










