काठमाडौं । नेपालमा दिनानुदिन बढिरहेको कोरोना संक्रमितको संख्या आइतबार आठ हजार ८५० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभरमा ८८ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
२४ घण्टामा ५४ जनाले ज्यान गुमाएको र विभिन्न मितिमा दर्ता नभएका अन्य २६ जना गरी सो संख्या पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका तीन हजार १६१ जना, ललितपुरका ५३३ जना र भक्तपुरका ५०४ जना रहेका छन् । यसरी आइतबार उपत्यकामा कुल चार हजार १९८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत एक दिनमा कोरोना मुक्त हुने चार हजार २२ जना रहेका छन् । हाल देशभरमा कुल ८८ हजार १६० जनामा संक्रमण सक्रिय रहेको छ । संस्थागत आइसोलेसनमा ६ हजार ७३० जना र होम आइसोलेसनमा हुनेको संख्या ८१ हजार ४३० रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।










