होमपेज » समाचार » डिआइजीलाई कारवाही भएन

डिआइजीलाई कारवाही भएन

बुधबार, २९ बैशाख २०७८, ०९:४२

काठमाडौं । महिला सांसदमाथि दुव्र्यवहार गरेको गम्भीर आरोप लागेका लुम्बिनी प्रदेशका डिआइजी रबिन्द्र धानुकलाई कारबाहीबाट जोगाइएको छ । राजनीतिक शक्तिका आधारमा उनलाई कारबाहीबाट जोगाइएको हो ।

उनले अघिल्लो आइतबार महिला सांसदका संवेदनशील अंगमा हातपात गरेको आरोप लागेको थियो । नेपाली काग्रेसका महिला सांसदहरुले पत्रकार सम्मेलन नै गरेर उनीमाथि कारबाहीको माग गरेका थिए ।

 

तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यति गम्भीर विषयमा छानबिन समेत नगरेकोमा धेरैले आश्चर्य मानेका छन् ।नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्री डिआईजी धानुकले सात जना महिला सांसदलाई दुव्र्यवहार गरेकाले उनीमाथि कारबाही हुनुपर्ने बताउँछिन् । शंकर पोखरेल अल्पमतमा रहेकाले उनको सपथ रोक्न माग गरी प्रदेश प्रमुखको कार्यालमा गएका सात जना महिला सांसदलाई डिआजी धानुक बल प्रयोग गरी दुव्र्यवहार गरेका थिए ।

 

मुख्यमन्त्री पोखरेलको निर्देशनमा त्यसरी उनले बल प्रयोग गरेको आरोप विपक्षी दलले लगाएका छन् । सांसदहरु निर्मला क्षेत्री, पुर्मति ढेंगा, लौटी थारु, शुस्मा यादब, पुष्पा थरुनी, गीता थापा, दिपेश थारु लगायतलाई प्रहरीले लछारपछार गरेको थियो । सांसदलाई समेत यसरी दुव्र्यवहार गर्ने प्रहरीले सर्वसाधरणलाई के गर्छन् भन्ने प्रश्न समेत उठेको थियो ।

पछिल्लो समय गृह प्रशासन तथा प्रहरीमा सरकारको हस्तक्षेप बढेको छ । त्यसैको परिणाम रुपन्देहीमा देखिएको हो । यसअघि अर्थमन्त्री विष्णु पौडेलको आदेशअनुसार काम नगरेको भन्दै रुपन्देहीका सिडिओ र एसपीको सरुवा गरिएको थियो ।

 

डिआईजी धानुकले सत्तालाई सहयोग गरेकाले उनलाई भने संरक्षण गरिएको छ ।उता राजनीतिक अन्योलताले डिआइजी सरुवा पनि रोकिएको छ । सातै प्रदेशका डिआइजीको एक वर्षको कार्यकाल पुगिसकेको छ । प्रदेश प्रमुख हुन डिआइजीहरुबीच चर्काे प्रतिस्पर्धा छ ।