होमपेज » हेडलाइन » बागमतीमा कोरोना संक्रमितद्वारा एकैदिन ३४ जनाको मृत्यु

बागमतीमा कोरोना संक्रमितद्वारा एकैदिन ३४ जनाको मृत्यु

बुधबार, २९ बैशाख २०७८, ०९:४८

काठमाडौं । कोरोना संक्रमणका कारण एकैदिनमा बागमती प्रदेशका ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत छन् ।

 

प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । मृत्यु हुनेमा सबै भन्दाबढी काठमाडौंका ११ जना महिला र ७ जना पूरुष गरी कुल १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ४ हजार ६५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ललितपुरका ४ जना, भक्तपुरका ३ जना, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः २÷२ जनाको मृत्यु भएको छ । त्यस्तै रसुवा, रामेछाप र सिन्धुपाल्चोकका १÷१ जनाको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६५३ जना पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा काठमाडौैका २ हजार ७८८ जना, ललितपुरका ६०२ जना, भक्तपुरका ५३७ जना, रसुवाका १ जना, नुवाकोटका ७३ जना, धादिङका ११५ जना, चितवनका १२४ जना, सिन्धुलीका ४७ जना, मकवानपुरका ११६ जना, रामेछाप २४ जना, दोलखाका १५ जना, काभ्रे १५५ जना र सिन्धुपाल्चोकका ५८ जना छन् ।