दक्षिण कोरियाले घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स बजार सहजरुपमा उपलब्ध गराउन थालेको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि फार्मेसी, सुपरमार्केट, र अनलाइन च्यानलहरुमा समेत सजिलै उपलब्ध हुन थालेको हो ।
जीएस–२०, सेभेन–११ तथा अन्य साना सुविधा स्टोरहरुमा पनि यो किट आजदेखि सजिलै किन्न सकिन्छ । यसबाट केवल १५ मिनेटमै कोरोना लागे÷नलागेको पत्ता लगाउन सकिन्छ । यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यसको मूल्य प्रति किट्स ७ हजारदेखि ९ हजार वोन अर्थात ७ सयदेखि ९ सय रुपैयाँसम्म पर्छ ।
आफैं परीक्षण गर्न मिल्ने किटले अहिले अन्य देशहरुमा पनि आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । कोरोनाको शंका लागेमा वा लक्षण देखिएमा प्रारम्भिक परीक्षणको लागि सजिलै घरमा रिजल्ट हेर्न सकिने हुँदा अस्पतालमा हुने भीडभाडमा कमी तथा कोरोना संक्रमण दर कम हुने भएकाले दक्षिण कोरियाली सरकारले यो किट सर्वसाधारणलाई उपलब्ध गराउन थालेको हो ।
यो किटको प्रयोगकर्ताले नाकबाट स्वाबको नमुना संकलन गरी परीक्षण गर्न सक्नेछन् । पोजेटिभ रिपोर्ट प्राप्त भएमा उनीहरुलाई पीसीआर टेष्ट तथा अन्य परीक्षणका लागि सिफारिस गरिन्छ । एजेन्सी










