गोरखा । कोरोना भाइरसको दोस्रो लहरमा गोरखामा संक्रमितको संख्या अत्यधिक थपिए पनि उपचारमा समस्या देखिएको छ । जिल्ला सक्रिय संक्रमितको संख्या झण्डै पाँच सय पुगेको छ र उनीहरु अधिकांश होम आइसोलेसनमा छन् ।
यदि संक्रमितमा गम्भीर समस्या देखिएर अस्पताल आउनुपरेमा धेरै अस्पताल उपचारका लागि तयार छैनन् । सदरमुकामको गोरखा अस्पताललगायतका एकाध अस्पतालले मात्र अक्सिजनसहित उपचार गर्न सक्ने अवस्थामा छन् । आधा दर्जन भन्दा बढी संख्यामा रहेका निजी अस्पताल कोरोना संक्रमित उपचार गर्न नसक्ने भनी बसेका छन् ।
जिल्लाका कुनै पनि निजी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने आइसोलेसन वार्ड छैन । आइसोलेसन निर्माणमा उनीहरुले चासो पनि दिएका छैनन् । उनीहरुले अक्सिजन, पीपीई सेटलगायतका सामग्री नै आफूहरुसँग नभएको बताउँछन् ।










