होमपेज » हेडलाइन » एमालेको विवाद समाधान गर्न आज कार्यदल गठन गर्ने

एमालेको विवाद समाधान गर्न आज कार्यदल गठन गर्ने

शनिबार, १ जेष्ठ २०७८, १०:०३

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न आज कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् ।

 

यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान गरेर अघि बढ्न सहमत भएका थिए । यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन । ‘आज ओली र नेपालबीच छलफल गरेर कार्यदल बनाउने तयारी छ,’ एमाले ओली पक्षका एक नेताले भने ।

 

माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले आ–आफ्ना पक्षका नेताहरुबीच छलफल गरेर कार्यदलमा रहने सदस्यहरु टुंगो लगाउने बताए । एमाले नेताहरुका अनुसार कार्यदललाई नेताहरुको जिम्मेवारी, संगठन संरचना र अन्य विवादित विषय समाधानको बाटो पहिल्याउने जिम्मा दिइने छ ।

 

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ साल जेष्ठ २ गतेकै अवस्थामा फर्काउन र सोही आधारमा समाधान खोज्न ओली सहमत भएका थिए ।