होमपेज » समाचार » डोटीका युवाहरूमा कोरोना संक्रमण

डोटीका युवाहरूमा कोरोना संक्रमण

शनिबार, १ जेष्ठ २०७८, १३:१७

डोटी । कोरोना महामारीको असर मुलुकको सुदूरपश्चिमी जिल्ला डोटीमा समेत डरलाग्दो रूपमा बढेको छ । दोस्रो लहरको कोरोना परीक्षणको वैशाख महिनाको तथ्यांकलाई विश्लेषण गर्दा कुल परीक्षण संख्याको ३९ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय, डोटीले जानकारी दिएको छ ।

 

शुक्रबार गरिएको परीक्षणबाट डोटी जिल्लामा ६७ नयाँ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट ९६ जनाको परीक्षण गर्दा ६४ अर्थात् झण्डै ६६ प्रतिशतमा संक्रमण देखिएको छ । यस्तै, पाँच जनाको एण्टिजेन परीक्षण गर्दा तीन अर्थात् झण्डै ६० प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय, डोटीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । योसँगै डोटी जिल्लामा हालसम्म कुल संक्रमितको संख्या दुई हजार सात सय पुगेको छ ।

 

डोटीमा कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमण दर ह्वात्तै बढेको तथ्यांकहरूले देखाएका छ । डोटीमा २०७७ साल जेठ १९ गते पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतबाट फर्केर क्वारेन्टिनमा बसिरहेका शिखर नगरपालिका–३ का २२ वर्षीय एक युवामा कोरोना संक्रमण पुष्टि भएको थियो ।