काठमाडौं । हरेक वर्ष जेठ ३ गते भन्नासाथ धेरै नेपालीलाई एउटा त्रासदीपूर्ण घटनाको सम्झना हुन्छ, त्यो हो– २०५० सालको दासढुंगा प्रकरण । यो प्रकरणमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।
दासढुंगा काण्ड जीप दुर्घटना मात्र हो कि षड्यन्त्र ? षड्यन्त्र हो भने को हो मदन भण्डारी र जीवराज आश्रितको हत्यारा ? र, अहिलेसम्म केले छेक्यो एमालेलाई दासढुंगा घटनाको छानविन गर्न ? २८ वर्षदेखि यी प्रश्नहरु अनुत्तरित छन् । उत्तर खोज्ने नागरिक तहबाट प्रयास भइरहे पनि जसले अग्रसरता देखाउनुपर्ने हो, त्यो पक्ष भने प्रायः मौन बस्ने गरेको छ ।
हुन त २०५० साल जेठ ३ गतेयता त्रिशुलीमा धेरै पानी बगिसक्यो । एउटा सिंगै पुस्ता फेरियो । उतिबेला दासढुंगा काण्डको छानविन हुनुपर्छ भन्दै सडकमा उत्रने युवालाई पनि बुढ्यौलीले छोइसक्यो । उनै मदन भण्डारीले नेतृत्व गरेको पार्टी पटक–पटक सरकारमा पनि पुगिसक्यो । तर, अहँ, उक्त घटनाको न त छानविन गर्ने चासो नै रह्यो, न घटनाबारे नेपाली जनताले यथार्थ नै जानकारी पाए ।
हाल उनै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको पालककारुपमा आफूलाई उभ्याउन खोज्ने नेता केपी शर्मा ओली प्रधानमन्त्री छन् । मदनपत्नी विद्या भण्डारी राष्ट्रपति छिन् । तर, बर्षौंदेखिको यो रहस्यमय घटनाबारे सत्यतथ्य छानबिनमा भने उनीहरुको पटक्कै चासो छैन ।
औपचारिकताकै लागि भए पनि २८ औं मदन स्मृतिका अवसरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दासढुंगा प्रकरणको रहस्य बाहिर नआएको भन्दै पत्ता लगाउन आग्रह गरेका छन् । रातोपाटीबाट










