काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणा मानवीय संवेदनाहीन क्रुरता भएको जनाएको छ ।
विवेकशील साझा पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने ओली र भण्डारीको पुरानै आकांषाको सुनियोजित निरन्तरता भएको निष्कर्ष निकालेको जनाएको छ ।
विवेकशील साझा पार्टीले सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्ने बताएको छ ।
एक विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले भनेको छ, ‘कोभिड–१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल–शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता हो ।’
विवेकशील साझा पार्टी अहिलेको अवस्थामा कोरोना विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्ने प्रस्ट्याएको छ ।










