होमपेज » हेडलाइन » प्रदेशसभा सदस्य पद गुमाएका तीनजना अदालतमा

प्रदेशसभा सदस्य पद गुमाएका तीनजना अदालतमा

मंगलवार, १८ जेष्ठ २०७८, ११:५२

कठमाडौं । नेकपा माओवादी केन्द्रले गरेको कारबाहीपछि प्रदेशसभा सदस्य पद गुमाएका प्रदेश २ का तीनजनाले आफू नेकपा माओवादी केन्द्रमै रहेको दावी गरेका छन् ।

 

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुन्दन प्रसाद कुशवाहा, धनुषा निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित रामचन्द्र मण्डल, बाराबाट प्रदेश नम्बर २ बाट समानुपातिक बन्द सूचीबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका महम्मद समीरले आफुहरु माओवादी केन्द्रमै रहेको दावी गरेका हुन् ।

 

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएका थिए । तर माओवादी केन्द्रका नेतासमेत रहेका प्रदेशसभा सदस्य कुन्दनप्रसाद कुशवाहा, रामचन्द्र मण्डल र महम्मद समीर एमालेतिर सक्रिय भई माओवादी केन्द्रमा फर्कन नमानेपछि कारवाहीमा परेका थिए ।

सर्वोच्च अदालतमा दायर रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी हुने÷नहुने प्रश्नको निरुपण गर्न उपयुक्त देखिएको भन्दै लिखित जवाफसँगै सर्वोच्च अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश जारी गरेको छ ।

प्रदेशसभा सचिवालय प्रदेश २ जनकपुरधाम, नेकपा माओवादी केन्द्र, नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय प्रदेश २ र निर्वाचन आयोग समेतलाई नियमावली २०४७ को नियम ४९ को २ (ग) को प्रयोजनार्थ यही जेठ १९ गते छलफलको इजलासले बोलाएको हो ।

रिट निवेदकले नेपालको संविधानको धारा १७८ बमोजिमको योग्यता पूरा गरि प्रदेशसभा सदस्य पदमा निर्वाचित भएको भन्दै संविधानको धारा १७७ बमोजिम निर्वाचित भएको मितिले ५ वर्षसम्म आफूहरु पदमै रहने संवैधानिक व्यवस्था कायम रहेको जिकिर गरेका छन् ।