विराटनगर । बाख्रा प्रकरणको अनुसन्धान एवं छानबिन गरेर कारबाही अघि बढाउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा संयुक्त उजुरी दिएका छन् । बेलबारीका छ जना युवाहरुले बाख्रा प्रकरणको अनुसन्धान एवं छानबिन गरेर कारबाही अघि बढाउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा संयुक्त उजुरी दिएका हुन् ।
उजुरी दिनेमा खेमराज गौतम सुजित बस्नेत, रिक्त गुरुङ, कमल सुब्बा, विपिन आचार्य र विशाल थापा छन् । मोरङको बेलबारी नगरपालिकामा अष्ट्रेलियन (फुल ब्लड) बोयर भन्दै किसानलाई नवलपरासीको बाख्रा वितरण गर्ने ठेकदारसँग जनप्रतिनिधिको साँठगाँठ रहेको पाइएको छ । बाख्रा खरिदको केही दिनअघि बाख्रा आपूर्तिको जिम्मा पाएको सप्लायर्सका प्रतिनिधिसँग जनप्रतिनिधिले दोलखाको एक होटलमा सँगै खानपिन गरेको खुलेको छ । एक करोड रुपैयाँको चलखेल भएको मोरङको बेलबारी नगरपालिकाको विवादित बाख्रा प्रकरणबाट श्यामराज पाण्डेले उम्कने प्रयास गरेका छन् । सेटिङ’मा ठेक्का पारेपछि पाण्डेले ग्रो अर्गानिक एग्रिकल्चर प्रा.लि (कृषि फार्म)को कागजातमार्फत आयात गरेको बाख्रा नगरले कृषक र कृषि फार्मलाई वितरण गरेको थियो । ठगी प्रकरण बाहिरिएपछि पाण्डेले उम्कन र कारवाहीबाट बच्न चलखेल थालेका हुन् । अस्ट्रेलियादेखि ‘जहाज चार्टर’ गरेर बोयर जातका बाख्रा ल्याएको भन्दै पश्चिम नेपालबाट संकलन गरेर ल्याइएका बाख्रा वितरणमा उनको प्रत्यक्ष संलग्नताका प्रमाणहरु सुरक्षित छन् ।
आयातमा संलग्न भएका पाण्डेले अस्ट्रेलियाबाट ल्याउँदा बाख्रा क्वारेन्टाइनमा राखेको भन्दै नक्कली कागजपत्र तयार पारेर बेलबारी नगरपालिकाका पशु शाखा प्रमुख बाबुराम बस्नेतलाई बुझाएका थिए । बाख्रासँगै पाण्डे आफैँले पशु चिकित्सकको रिपोर्ट र क्वारेन्टाइन सम्बन्धी नक्कली कागजात बुझाएको पाइएको छ । अस्ट्रेलियाबाट बोयर बाख्रा आयातका लागि नगरपालिका र सप्लायर्सबीच गत जेठ ३ गते एक करोड २४ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो ।नगरपालिकाले बाख्रा खरिद गर्ने आशयको सूचना निकालेपछि सात जना वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र तीन जना कर्मचारीले ठेकेदार प्रतिनिधिसँग गरेको खानपिनको बिल करिब ७० हजार रुपैयाँ नगरपालिकाले हालै भुक्तानी गरेको छ ।
उनीहरु चैत २१ गते दोलखाको होटल मिराकल भ्यू रिसोर्टमा बसेका थिए ।उक्त रकम लामो समयसम्म भुक्तानी नभएको भन्दै होटलले नगरपालिका कार्यालयमा पत्र पठाएपछि यो विषय बाहिर आएको हो । स्रोतका अनुसार बाख्रा खरिद प्रकरण विवादमा परेपछि नगरपालिकाले भुक्तानी रोकेका कारण होटलको भुक्तानी रोकिएको हो । ठेकेदार प्रतिनिधिले रकम तिर्ने समझदारी भएपनि नगरपालिकाले बाख्रा खरिदको भुक्तानी नदिएपछि ठेकेदारले होटलको बिल नतिरेको स्रोतको दावी छ ।नगरपालिकाको विभिन्न वडाका किसानलाई वितरण गर्न अष्ट्रेलियाको फुल ब्लड बोयर वितरण गर्ने योजनामा नवलपरासीको बाख्रा वितरण गरिएको थियो । किसानले प्रश्न उठाएपछि नगरपालिकाले छानबिन गर्ने भन्दै ठेकदारलाई भुक्तानी रोकेको थियो ।
प्रशासकीय अधिकृत प्रदीप साहले भने नगरपालिकाको बार्षिक योजनाअनुसार जनप्रतिनिधिको भ्रमणका लागि दोलखा पुगेको बताए । उनले जनप्रतिनिधिसहित १० जनाको टोलीसँग बाख्रा खरिद प्रकरणका ठेकेदार श्याम पाण्डेको भेट भएको पनि स्वीकार गरे ।‘सात जना वडा अध्यक्ष, दुई जना कर्मचारी र एक जना ड्राइभरसहित १० जनाको टोली अवलोकन भ्रमणका क्रममा बास बस्न दोलखाको मिराकल भ्यू पुगेका हौँ,’ उनले भने,‘पछि पाँच जनाको टोली थपियो ।’ स्थानीय तहको फोहोर व्यवस्थापन तथा सौर्य उर्जाको सम्भाव्यता अध्ययनको काम गरिरहेका पाण्डे नगरका जनप्रतिनिधि र कर्मचारीसँग नजिक थिए । उनकै योजना अनुसार होटल पुगेको स्रोतको दाबी छ । रिसोर्टले पठाएको बिल नगरपालिकाले भुक्तानी गरिसकेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।ठेक्का सम्झौता विपरीत पश्चिम नेपालको नवलपरासी र आसपासका स्थानबाट संकलन गरेर ९२ वटा बाख्रा ल्याएर जेठ १५ गते वितरण गर्दै पाण्डेले सिंगो नगरपालिकालाई नै विवादित बनाएका छन् ।
सम्झौतामा फार्मका तर्फबाट हस्ताक्षर गरेका गोविन्द राय बाख्रा आयातको विषय आफूलाई केही जानकारी नभएको बताउँछन् ।बाख्रा अस्ट्रेलियन बोयर नभएको पत्ता लागेपछि बदमासी गरेका पाण्डेले आफू जोगिनलाई यो प्रकरणमा आफ्नो संलग्नता नरहेको देखाउँदै दोष सप्लायर्सको थाप्लोमा हालिरहेको स्रोतले बतायो । छानबिनमा पर्ने अवस्था बनेपछि उनले अहिले बेलबारी छाडिसकेका छन् । फार्मको कागजात प्रयोग गरेर पाण्डेले नै बाख्रा आयातदेखि वितरणसम्ममा लगानी गरेको जानकारी सप्लायर्सले नगरपालिकालाई दिइसकेको छ । लगभग २४ लाख रुपैयाँ जति खर्च गरेर बाख्रा ल्याउँदै एक करोड रुपैयाँ झ्वाम बनाउन खोजिएका बेला बाख्रा अस्ट्रेलियाको र ‘शुद्ध’बोयर नभएको खुलेको हो ।मोरङ बेलबारी नगरपालिकाले अष्ट्रेलियाको भन्दै नवलपरासीबाट ल्याएको क्रस बोयर जातको ८९ वटा बाख्रा गत जेठ १५ मा वितरण गरेको थियो ।
वितरण गरिएका बाख्रामध्ये दुईवटा मरेको छ ।बाख्रा खरिदका लागि ग्रो अर्गानिक कृषि फर्म संखुवासभालाई एक करोड २४ लाखमा ठेक्का दिएको थियो । गत चैत १२ गते सूचना निकालेको नगरपालिकाको टोली ठेकेदारसँग चैत २१ गते दोलखाको रिसोर्ट पुगेको थियो ।वैशाख २८ गते छनोट भएको फर्मसँग जेठ ३ गते सम्झौता गरिएको थियो । उक्त फर्मले सम्झौताको १२ दिनपछि जेठ १५ गते नगरपालिकामा बाख्रा बुझाएको थियो । ठेक्का अनुसार काम नगरेको भन्दै फर्मको धरौटी जफत गरी कालोसूचीमा राख्न नगरपालिकाले सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई सिफारिस गरेको छ ।अख्तियारले अनुसन्धान थालेपछि पाण्डेले आफ्नो संलग्नता नदेखाएर सुटुक्क बाहिरिँदै अनियमितता र भ्रष्टाचारको भुङ्ग्रोमा अरुलाई हाल्न खोजिरहेको पाइएको छ ।
आफू कारवाहीमा परे अरु कारोवार र विभिन्न आवद्धता संकटमा पर्ने तथा चौपट हुने बुझेपछि पाण्डे अरुविरुद्ध खनिएका हुन् ।नगरपालिकाको नगर कार्यपालिका बैठकले ठेक्का सम्झौता रद्द गर्दै फार्मलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिसकेको छ । बाख्रा आयातका लागि जम्मा गरिएको छ लाख २० हजार रुपैयाँ धरौटी जफत गरेर अरु भुक्तानी रोक्दै नगरपालिकाले कार्यपालिका सदस्य विन्दुकला गुरुङको नेतृत्वमा बाख्रा प्रकरणको छानविन गर्न एक साताको समय दिएर गत जेठ ३१ गते समिति बनाएको थियो ।










