नागोया । जापानमा भएको नेपाली समूदायबीचको सेभन ए साइड फुटबल रनिङ कपको उपाधि सिजुओका गाईजले जितेको छ ।
जापानको नागोया टोयोटास्थित हिगासिकोसामा आईतबार भएको प्रतियोगितामा एनएन एफसी नागोयालाई टाइब्रेकरमा ३–२ ले हराउँदै सिजुओकाले उपाधि जितेको हो । विजेता टोलीले उपाधिसहित २ लाख ५२ हजार ५ सय २५ यान प्राप्त गरे भने, त्यसै गरि उप विजेता एनएन एफसी नागोयाले १ लाख ५१ हजार ५ सय १५ जापानी यान प्राप्त गरे । एनएन एफसी नागोयाका अनिल गुरुङ प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए । विजेता टोलीका सञ्जय प्रधान प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने भने सोही टोलीका विवेक थापा उत्कृष्ट गोलकिपर चुनिए । एनएन एफसी नागोयाका रोशन गुरुङ फाइनलको म्यान अफ दी म्याच घोषित भए ।
एफसी धरान नागोयाले आयोजना गरेको प्रतियोगितामा जापानभरको १६ टोलीको सहभागिता थियो । प्रतियोगिता नकआउटका आधारमा भएको थियो । सोही दिन ३५ वर्ष माथिको मैत्रीपूर्ण फुटबलमा एनआरएनए नागोया भेट्रानले नेपारूया भेट्रानलाई ३–२ ले हराएको थियो ।
उक्त प्रतियोगिता जापानमै स्थापित खेलाडी एवं प्रशिक्षक देव घिमिरेले उद्घाटन र समापान कार्यक्रम एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। साथै कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने संघ, संस्था र सम्पूर्ण व्यक्तिलाई आयोजक एफसी धरान नागोयाका अध्यक्ष योमन देवानले धन्यवाद दिए । साथै यस्ता खेलहरु हरेक दुई दुई वर्षमा प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको आयोजक क्लबका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सविन राईले जानकारी दिए ।










