होमपेज » राजनीति » सेभेन गेयर फेल भएपछि ओली क्याम्प छाड्दै आले !?

सेभेन गेयर फेल भएपछि ओली क्याम्प छाड्दै आले !?

सोमबार, २८ असार २०७८, १६:५४

धनगढी । डोटीका नेता प्रेमबहादुर आलेले एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडने संकेत गरेका छन । २०७४ को निर्वाचन अघि भीमबहादुर रावलको दायाँ हातका रुपमा रहेका आले तिनै रावलको चर्को विरोध गर्दै केपी शर्मा ओलीको विश्वास पात्र बनेका थिए । ओलीले अघिल्लो क्याविनेटमा उनलाई वन तथा वातावरण मन्त्री समेत बनाएका थिए ।

 

ओली दोश्रो पटक प्रधानमन्त्री बने यता मन्त्री बन्न सम्पूर्ण  श्रोत र शक्ति लगाउदै आएका आले अघिल्लो पटक हटाइएका मन्त्रीहरु मध्येका हुन । उनको स्थानमा प्रधानमन्त्री ओलीले कैलालीका नारदमुनी रानालाई वन तथा वातावरण मन्त्री बनाए । आले पाँच महिनासम्म मन्त्रीको कुर्सीमा रहे । तर आफू ओली प्रधानमन्त्री रहदासम्म मन्त्री बनी रहनु पर्ने भन्दै आलेले बालुवाटार शक्ति केन्द्र धाइरहेका थिए ।

“सांसदसम्म त ठिकै हो मन्त्री बन्ने क्षमता आलेमा थिएन । प्रधानमन्त्रीले उनलाई मन्त्री बनाएर गल्ती गरेका हुन”   आलेलाई नजिकबाट चिन्ने सुदूरपश्चिमका एमालेका एक जना नेताको धारणा छ ।

पाँच महिनाको मन्त्रीकालमा आले ६ वटा ठूला विवादमा परे । उक्त अवधिको ओली क्याविनेटमा विवादस्पद अभिव्यक्तिका कारण सोसलमिडियामा उनको चर्को आलोचना भयो । ‘हामीले रुखलाई अक्सिजन दिन्छौ र रुखले हामीलाई कार्वनडाइक्साइड दिने भएकाले रुख काटनु हुदैन मन्ने आलेको भाषणको क्लिप टिकटकमा भाइरल समेत भयो ।

 

त्यसैगरी ‘सरकार अब सात गियरमा हिड्छ’ भन्ने भाषण पनि भाइरल भयो । वन माफियाहरुले एक अर्व रुपैया घुसको अफर गरे भन्ने सार्वजनिक अभिव्यक्तिले सञ्चार माध्यम र सामाजिक सञ्जालमा आलेको चर्को आलोचना भइरह्यो ।

मन्त्रीमा नियुक्त हुना साथ उनले अघि सारेका विकासे योजनाहरुलाई पनि जनमानसले उडन्ते गफको संज्ञा दिए । गएको जेठमा उनले व्यक्तिगत लगानीमा करिब ४० लाख रुपैयाँको अक्सिजन सिलिण्डर डोटी र धनगढीका अस्पताललाई वितरण गरेका थिए । ती सिलिण्डरमा आफ्नो फोटो सहितको पोस्टर टाँसेकोमा उनको जनस्तरबाट चर्को आलोचना भएको थियो ।

आले नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापाको विशेष सिफारिसमा मन्त्री बनेका थिए । बैज्ञानिक वन व्यवस्थापको लफडा देखि आले र थापाको सम्बन्ध समुधुर भएको हो । यी दुईको पछिल्लो गठजोडलाई सुदूरपश्चिममा एमालेकाे राजनीतिमा शंकाको रुपमा हेरिएको छ ।  २०४९ सालमा नेपाली कांग्रेसबाट जिविस सदस्य भएयता राजनीतिक शक्तिको दुरुपयोग र सरकारी सेटिङबाट सुदूरपश्चिमको वन फडानी गरेर अर्बपति भएको आलेमाथि आरोप लाग्दै आएको छ ।

डोटी जिल्लाबाट लगातार २ पटक निर्वाचित आलेको लोकप्रियता पैसामा टिकेको उनलाई नजिकबाट चिन्नेहरू बताउछन् । उनले वन फडानीबाट कमाएको अकुत सम्पत्ति टाठाबाठा कार्यकर्ता र मतदाताहरुलाई बाँड्ने गरेको आरोप  पनि लाग्दै आएको छ । त्यतिमात्र नभई डोटीमा कोही दु:खी बिरामी भयो भने न्यूनतम २५ हजार रुपैया वितरण गर्दै आएका छन । यसरी महिनामा लाखौ रुपैयाँ उनले बाँड्छन । उनको देखिने गरी कुनै उद्योग व्यवसाय छैन । यसरी लाखौ रुपैयाँ बाँड्ने पैसा कहाँबाट आउछ र उनकाे आय स्राेत के हाे, कर तिरेकाे शुद्ध धन हाे कि हाेइन ? भन्ने प्रश्न उठ्दै आएको छ ।

सुदूरपश्चिममा लागु बैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा रुख कटानी  र विक्री गर्ने ठेक्काहरु आलेको टिमले नपाउदा उनी उक्त कार्यक्रम खारेज गर्ने अभियानमा लागे । त्यसमा साथ दिए एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले । पैसाको बलमा व्यवस्थापिका संसदमा समेत एक दर्जन सांसदहरुलाई प्रलोभनमा पारेर आले सम्वद्ध वन माफियाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुक्याई उक्त कार्यक्रम खारेज गराएरै छाडेको काठ व्यवसायीहरु बताउने गर्छन । वन फडानी काण्डमा अदालतको मुद्दा  समेत खेपेका आलेलाई साथ दिएकोमा प्रदेश अध्यक्ष थापासंग सुदूरपश्चिमका एमाले नेताहरु असन्तृष्ट रहेकाे बताइन्छ ।

 

आले नेकपा एमालेका समकालीन नेताहरु मध्यै सबै भन्दा धनी भएको दावी गर्दै आएका छन । उनी एमाले नेताहरु मध्ये सबैभन्दा महंगो गाडी चढ्छन । तर यी धनाढ्यकाे प्रमुख  आय स्राेत के हाे त ? स्राेतका अनुसार आलेले चढ्ने गाडीको हालको बजार मूल्य करिब ३ करोड रहेकाे छ । त्यसैगरी डोटी, कैलाली र काठमाण्डौ गरी आधा दर्जन महलहरु र अर्ब बढीको सम्पत्ति आलेले जोडेको सुदूरपश्चिमका नेताहरुको भनाई छ ।

दुई दशक अघि निम्नवर्गीय अवस्थाको आलेकाे परिवार कसरी अर्बपति भयो भन्ने विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन थाल्नुपर्ने माग उठ्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आलेलाई वन तथा वातावरण मन्त्री बनाउने वित्तिकै एमाले नेता भीमबहादुर रावलले आमसभाहरुमा ओलीले वन माफियालाई वन मन्त्री बनाएकोमा सुदूरपश्चिमका रुख विरुवाहरु थरथर काँपिरहेका छन । यहाँका बोटविरुवाहरु आलेबाट त्रसित छन भन्दै भाषण गरेका थिए ।

पाँच महिनामै मन्त्रीबाट हटाइएपछि अहिले आले प्रधानमन्त्री केपी शर्मा ओलीसंग रिसाएकाे उनी निकटहरू बताउछन् । उनले हाल आएर एमाले वरिष्ठ नेता माधव कुमार नेपालसंग भेटघाट बढाएको  स्राेतको भनाई छ । दुईसाता यता माधव नेपालको घरमा आलेको आवतजावत बाक्लिएको खबरले बालुवाटारमा चर्चा पाएको छ ।स्राेतले भन्यो आले अवसर परस्त व्यक्ति हुन् ।

 

कुनै बेला सुदूरपश्चिमका नेता भीमबहादुर रावललाई धनमनले सेवा गर्दै अवसरको मुकाम प्राप्त गर्न सफल भएका आले रावलको ओरालो यात्रा सुरुभएपछि क्याम्प परिवर्तन गरेर ओलीको टिममा छिरेका थिए । हाल प्रधानमन्त्री केपी शर्मा ओलीबाट अवसरका ढोका बन्द भएको ठानेर आलेले अब माधवलाई नै रोजेको हुनसक्ने सुदूरपश्चिमका एक जना नेताले बताए ।

साभार – साँघु