एजेन्सी । अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता हिजो बुधबार सकिएको छ ।
यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने जानकारी तालिबानका नेताले दिएका छन् । अफगानिस्तानका स्थानीय मिडियाले तालिबान समूहका नेताले आगामी केही दिनमा नै सरकार बनाउने कुरा बताएको जनाएका छन् ।
ताबिलानका एक प्रमुख नेता मुल्लाह हबितुल्लाह अखुन्जादाले केही दिनअघि अफगानिस्तानका नेतासँग सरकार बनाउने विषयमा छलफल गरेका थिए । उनले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईसँग पनि परामर्श गरेका थिए । पूर्वराष्ट्रपति कारजाईले तालिबानका वरिष्ठ नेता अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेका बताइएको थियो ।
अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानलगायतका विश्वका विभिन्न देशले आग्रह गरेका छन् । यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र अहिले यो देश नयाँ मोडमा उभिएकोले आगामी दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पाकिस्तानका विदेशमन्त्रीले हिजो बुधबार मात्र बताएका थिए ।
कतिपय पश्चिमा तथा युरोपेली देशले अफगानिस्तान अहिले मानवीय सहायताको पर्खाइमा रहेको भन्दै यहाँका नागरिकलाई आवश्यक मात्रामा सहयोग गर्नका लागि विश्व समुदाय एक हुनुपर्नेमा जोड दिइएको छ ।










