काठमाडौं । नेकपा एमालेले जेठ २ मा फर्कने निर्णय गरेको एकसाता नबित्दै सो पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल छोडेर ओलीतिर लागेका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरुबीच ‘खटपट’ सुरु भएको छ । गत भदौ ९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेर परिपत्र जारी गरे पनि अध्यक्ष ओली एकलौटी अघि बढ्न खोजेपछि एमालेमा विवाद र खटपट सुरु भएको हो ।
यसको उदाहरणका रुपमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए) लाई लिन सकिन्छ । पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपाल हुन् । तर, अध्यक्ष नेपाललाई थाहा नै नदिई अध्यक्ष ओली पक्षले भदौ १८ गते पीपीएलएको नाममा केन्द्रीय समितिको भेला बोलाएको छ ।
‘सामाजिक सञ्जालमा भोलि भदौ १८ गते शुक्रबारका दिन पीपीएलए केन्द्रीय समितिका नाममा बोलाइएको भनिएको भेला संस्थागत निर्णयबिना भएकाले उक्त भेलाबारे पीपीएलएलाई संस्थागत रुपमा कुनै जानकारी नभएको व्यहोरा अनुरोध छ’, अध्यक्ष नेपालले आज एक अपिल जारी गर्दै भनेका छन्, ‘पीपीएलएको एकता बचाउन चाहने कानुन व्यवसायीलाई उक्त भेलामा सहभागी नहुन हार्दिक अपिल गर्दछु ।’
उता पीपीएलएका अध्यक्ष नेपालले भेलाबारे जानकारी नै छैन भनिरहँदा संगठनकै नामबाट भेलाको निम्तो गरिएको छ ।










