नुवाकोट। क्रियाशील सदस्यता नविकरण विवादमा लामो समयसम्म अल्झिएको नेपाली कांग्रेसको आँउदो अधिवेशनमा युवा नेताहरुले आफ्नो पकड जमाउने देखिन्छ। कतै विवाद त कतै सर्वसम्मतका साथ मुलुकका अधिकांश स्थानमा वडा अधिवेशन सम्पन्न भईसकेको छन् । तोकिएको मितिमा अधिवेशन सम्पन्न भएमा गाउँ नगरदेखि नेपाली कांग्रेसको उच्च तहसम्मको अधिवेशन हुने पक्का भएको छ ।
बिगतमा कांग्रेसको गढ मानिने नुवाकोटमा पनि विवाद त्यो भन्दा कत्तिपनि कम छैन । क्षेत्रीय प्रतिनिधि तथा पालिका सभापति बन्ने होडबाजी नै चलेको छ ।
यस्तै नेपाली कांग्रेस शिवपुरी गाउँपालिकाको सभापतिमा लाल बहादुर तामाङले उम्मेदवारी घोषणा गरेका छन् ।
इमान्दारीता, उत्तरदायित्व, ठोस कार्य योजना, आत्मनिर्भरता, मितव्ययीता र सबै कांग्रेसीहरुमा एकता उनका मुख्य प्रतिबद्धता हुन् । कांग्रेसमा गुट उपगुट हुन नहुनेमा उनले जोड दिँदै आएका छन् ।
नेपाली कांग्रेसको पालिका अधिवेशन नजिकिँदै गर्दा खुलेरै उम्मेदवारी घोषणा गरेका तामाङले पार्टी मजबुत बनाउन युवाहरुलाई प्राथमिकता दिनुपर्ने बताए । युवापुस्तालाई जिम्मेवारी दिएर अग्रजले मार्गनिर्देशन गरेमा पार्टी मजबुत हुने उनको बुझाई छ ।


हाल वडा नं ६ को वडा अध्यक्षसमेत रहेका तामाङकै सक्रियतामा कोरोना महामारीका बेलामा गाउँमा कोरोना भाइरस नियन्त्रणका साथै कोरोना संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सफल भएको थियो ।

नेतृत्व र कार्यकर्ता व्यवस्थापन गर्ने क्षमता भएका निडर तामाङले पालिका सभापतिको जिम्मेवारीमा आफुलाई अत्यधिक बहुमतले निर्वाचित गराउन सबै क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।










