कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त छन्। कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउँछन् । मौरीहरूको आधार चाका हेरचाह गर्दै उनीहरूको दिनचर्या बित्छ ।
मौरीलाई आधार चाका दिँदा वर्षमा एक लाख रुपैयाँको दुई क्विन्टल दिने गरेको लीलबहादुरले बताए । त्यसैगरी वर्षमा चिनी दुई लाख रुपैयाँको दिने गरिएको छ । गाडीमा राखी ठाउँ ठाउँमा चराउँदा ढुवानी खर्च वर्षमा पाँच लाख रुपैयाँसमेत लागेको राणा बताउँछन् ।
तराईको गर्मीमा हुने मेली फेरा नामक मौरी तराईको ४० डिग्री गर्मीमा समेत बाँच्न सक्छ । आजकाल प्रतिकेजी ६०० रुपैयाँमा बिक्री हुन्छ । कोहलपुर र नेपालगन्जमा मह उत्पादन गरी बिक्री गर्नेमा सफल नाम राणाको परिवारको छ । नौ जनाको परिवार मह बेचेर चलाएको राणा बताउँछन् । त्यही मौरीले दिएको मह वर्षमा ४० क्विन्टल उत्पादन गरी २० लाख रुपैयाँ आम्दानी हुने गरेको छ । उहाँ मौरीपालनमा लागेको १० वर्ष भयो । आफूहरूको मेहनत देखेर आफूहरूलाई नेपाल सरकारले गत वर्ष रु १४ लाख अनुदान कृषि ज्ञान केन्द्र बाँकेमार्फत मौरीपालन गर्न दिएको राणा बताउँछन् । यस वर्ष पनि १० लाख रुपैयाँ अनुदान मौरी पकेट कार्यक्रम कोहलपुर नगरपालिकाले र कृषि ज्ञान केन्द्र बाँकेले दिएका छन् ।
वि.सं २०७१ मा जिआई जेटले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य हुँदा आफूहरूलाई मह प्रशोधनका लागि घर निर्माण गर्न र यन्त्रका लागि १० दश लाख रुपैयाँ अनुदान रकम दिएकाले साहस बढेको राणाले बताए । मौरी पकेट कार्यक्रम कृषि ज्ञान केन्द्र बाँकेले तीनवर्षे मौरी पकेट अनुदानसमेत दिएको छ ।
राणा सञ्जीवनी मौरी फार्मको सञ्चालकसमेत बनेको छ । ‘गरे के हुँदैन, अहिले रुदिलो, सिसौको फूलहरू भएको ठाउँमा मौरी लिएर चराउँदै व्यस्त हुन्छौँ’, बाबुछोराले हाँस्दै भने, ‘विदेश किन जाने, विदेशभन्दा नेपालमै पनि पैसा कमाउन सकिन्छ । हामी त मौरीमा रमाउँछौँ । कात्तिकदेखि माघमा तोरीको फूलको रस खान्छन् मौरीले, माघफागुनदेखि वैशाखसम्म रुदिलो झारीको फूलको रस र सिसौको फूलको रस अनि वैशाख जेठसम्म जामुनको फूलको रस खान्छन् ।’
उनीहरू कहिले राजापुर कहिले ठाकुरद्वारा र कहिले बाँसगढी दुई महिना दुई महिनामा ठाउँ सार्छन् । जेठदेखि असोजसम्म चिनी दिएर मौरी बचाउनुपर्छ । उनीहरू त्यस समयमा घरमा लगेर मौरी राख्छन् । राणाले भने, ‘४० डिग्री तापक्रम सहन सक्ने क्षमता हुन्छ मेली फेरा मौरीको ।’ मौरी रहेको धर्तीमा खेती राम्रो सप्रने उनले बताए ।
मौरी प्रकृतिमैत्री जीव हो जसले प्रकृतिको रक्षा गर्छ र अन्न उत्पादनमा सुधार हुन्छ । अहिले महको बजारीकरण सजिलो भएको र प्राङ्गारिक मह भनेर धेरैले घरैमा लिन आउने गरेको राणा बताउँछन् । राणा भने, ‘चितवन, दाङ र सुर्खेतदेखि मौरीपालन व्यवसायीहरू मौरी चराउन बर्दिया आउँछन् ।’
बर्दिया मेली फेरा मौरीका लागि अति उत्तम ठाउँ हो । अरू किसानलाई पनि सरकारले अनुदान दिएर सहयोग गरेमा मौरीपालनमा घाटा नहुने उनले बताए । तरकारी, अन्नपात जस्तै मह नकुहिने र बिक्री नभएमा तापक्रम मिलाएर राखेपछि अर्को वर्ष पनि बिक्री भइहाल्ने गरेकाले यस पेसामा लाग्न राणाले आग्रह गरे । उनी भन्छन्, ‘तर ल्याब टेष्ट नगरी मह बिक्री गर्न दिनुहुँदैन । भारतको मह नेपाल आउँदा सरकारले जाँच गर्नुपर्छ ।’










