झापा, । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि नेपाली चिया निर्यात विगत दुई सातादेखि पूर्ण रूपमा ठप्प भएको छ ।
नयाँ नियमअनुसार भारत प्रवेश गर्ने प्रत्येक ट्रकको चियाको नमुना अनिवार्य रूपमा प्रयोगशालामा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि एक पटक परीक्षण प्रमाणपत्रका आधारमा १५ दिनसम्म निर्यात सहज रूपमा हुने व्यवस्था थियो ।
नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार गत वैशाख १८ गतेदेखि लागू गरिएको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ ले नेपाली निर्यातकर्तालाई थप प्रशासनिक तथा आर्थिक भार थपेको छ ।
उनका अनुसार यो चिया निर्यातको मुख्य सिजन हो र करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा रहे पनि नयाँ प्रावधानका कारण व्यवसायीहरू भारततर्फ चिया पठाउन सकिरहेका छैनन् ।
“दुई सातादेखि एक पोका चिया पनि निर्यात हुन सकेको छैन,” अध्यक्ष पराजुलीले भने । नयाँ प्रावधानअनुसार प्रत्येक ट्रकको नमुना परीक्षणका लागि करिब रु १८ हजार शुल्क लाग्ने र परीक्षण प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्ने व्यवस्था रहेको छ । साथै, परीक्षण प्रतिकूल आएमा सम्बन्धित चिया भारतीय बजारमा बिक्री गर्न वा अन्य देशमा पठाउनसमेत नपाइने र जफत गरिने कडा प्रावधान राखिएको छ ।
व्यवसायीहरूका अनुसार भारत प्रवेश गर्ने ट्रकहरू परीक्षण प्रतिवेदन नआउँदासम्म सीमाक्षेत्रमै रोक्नुपर्ने बाध्यता छ, तर त्यसका लागि पर्याप्त पार्किङ तथा भण्डारण पूर्वाधारसमेत नभएको गुनासो छ ।
नेपालको चिया उद्योगको प्रमुख बजार भारत नै हो । निर्यात अवरुद्ध हुँदा किसानदेखि उद्योगी तथा यसमा आश्रित लाखौँ श्रमिकको जीविकोपार्जनमा असर परेको सरोकारवालाहरूले बताएका छन् । सरोकारवालाहरूले नयाँ प्रावधानका कारण उत्पन्न अवरोध हटाउन नेपाल सरकारले भारतसँग तत्काल कूटनीतिक पहल (जीटुजी संवाद) गर्नुपर्ने माग गरेका छन् । रासस










