काभ्रेपलाञ्चोक, । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा मरेका कागमा बर्डफ्लु पुष्टि भएको छ । नगरपालिकाका अनुसार वडा नं. २ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक आसपास भेटिएका मरेका कागको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा गरिएको परीक्षणमा ‘लो प्याथोजेनिक एच–९’ प्रकारको बर्डफ्लु पुष्टि भएको जानकारी दिए ।
नमुना संकलन गरी प्रयोगशालामा पठाइएको र परीक्षण रिपोर्टपछि संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । संक्रमण पुष्टि भएपछि नगरपालिकाले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सूचनामार्फत कुखुरा फार्ममा जैविक सुरक्षा विधि कडाइका साथ लागू गर्न, अनावश्यक व्यक्ति तथा सवारीसाधनको प्रवेश रोक्न, तथा फार्म परिसरमा अन्य पशुपन्छी प्रवेश हुन नदिन निर्देशन दिइएको छ ।
त्यस्तै, फार्ममा प्रयोग हुने सामग्री नियमित रूपमा निसंक्रमण गर्न, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र बिरामी वा मरेका कुखुरा देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ ।
नगरपालिकाले कुखुरा तथा कुखुराजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ । साथै कुनै फार्म वा बिक्री केन्द्रमा अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको पाइएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।










