‘तामाङ ज्ञान’ अत्यन्तै संकटग्रस्ट अवस्था (Critically Endangered) मा पुगिसकेको छ । यसका संहारकहरु पनि पढेकालेखेका शिक्षित तामाङहरु नै हुन् । विद्यलायी, महाविद्यालयी वा विश्वविद्यालयी ज्ञानले तामाङहरुलाई आफ्ना सामुदायिक ज्ञान, अनुभव, अभ्यास, अनुभूति र सांस्कृतिक सम्पदाहरुबाट बिरानो बनाउँदै लगेको छ भने विभिन्न धर्माधिकारीहरुले तामाङ ज्ञान-विज्ञानलाई निस्तेज पार्दैछन् । यसमा राज्यसत्ता मुख्य दोषी छ । त्यसैकारण हाल आएर ‘तामाङ ज्ञान पनि हुन्छ र ?’ जस्ता प्रश्न पनि तेर्सिन थालेका छन् । यो निक्कै सोचनीय स्थिति हो । यसले तामाङ पहिचान गुम्ने खतरामा पुगेको सङ्केत गर्दछ । तामाङ संस्कृतिका मर्मज्ञ सन्तवीर लामाले भनेको अवस्थामा हामी पुगिसकेका छौं-
आपा आमासे ह्युल थोर्जि
जाजाकोलासे काइ थोर्जि
गान्बा गान्सुमसे ठिम थोर्जि ।
(बुबा-आमाले गाउँ छाडे
छोराछोरीले भाषा छोडे
बुढापाकाले रिवाज छोडे ।)
आमाबुबाहरुले गाउँ छोडिसकेका छन् । बालबालिकाले आ-आफ्ना भाषा बिर्सिसकेका छन् । बुढापाकाले आफ्ना परम्पराको अभ्यासको अभावमा संस्कृति-संस्कार बिर्सिसकेका छन् । हामी परिवहनीय ज्ञानतिर बरालिएका छौं र यसलाई नै हामी आफ्नो ज्ञान भनिरहेका छौं । वास्तविक तामाङ ज्ञान सङ्कटमा पुगिसकेको छ ।
१. ‘तामाङ ज्ञान’ के हो ?
तामाङ समाजमा निसृतः र अभ्यासित ज्ञान नै ‘तामाङ ज्ञान’ हो । ताम्बा काइतेन, जिक्तेन तामछ्योइ, कुक्पा खाछ्योइ, ह्रामा, दोङराप, फाराप, केराप, व्हाइ आदि ग्रन्थमा सङ्कलित ज्ञान नै तामाङ ज्ञान हो । तामाङ ज्ञान तामाङ समाजमा नै जन्मिन्छ, हुर्किन्छ पनि । तामाङ भाषा तामाङ ज्ञानको संवाहक हो ।
अब प्रश्न उठ्न सक्छ ‘तामाङ ज्ञान’ भनेको के हो ? मेरो विचारमा तामाङ समाजमा निसृतः र अभ्यासित ज्ञान नै ‘तामाङ ज्ञान’ हो । ताम्बा काइतेन, जिक्तेन तामछ्योइ, कुक्पा खाछ्योइ, ह्रामा, दोङराप, फाराप, केराप, व्हाइ आदि ग्रन्थमा सङ्कलित ज्ञान नै तामाङ ज्ञान हो । तामाङ ज्ञान तामाङ समाजमा नै जन्मिन्छ, हुर्किन्छ पनि । तामाङ भाषा तामाङ ज्ञानको संवाहक हो । तामाङ ज्ञान तामाङ भाषामा उनिएको हुन्छ । ‘ज्ञान’ भनेको विज्ञान, प्रविधि (सिप) र सामाजिक अभ्यासहरु पनि हुन् ।
ताम्बा काइतेन, जिक्तेन तामछ्योइ, कुक्पा खाछ्योइ, ठुङराप, दोङराप, फाराप, खेङा, ताम्बा व्हाइ, ह्रामा, उखान-टुक्का आदिमा रहेका ज्ञानगुणका कुराहरु, तामाङका सामाजिक व्यवहार, अभ्यास र मूर्त वा अमूर्त सांस्कृतिक सम्पदाहरु नै तामाङ ज्ञानका मुख्य स्रोत हुन् । तामाङ भाषामा नै तामाङ ज्ञान सङ्ग्रहित हुन्छ ।
‘सेबा’ (जान्नु), ‘गोबा’ (बुझ्नु), ‘सेङ्बा’ (सिर्जनु), ‘खेन्बा’ (कथ्नु वा रच्नु), ‘म्हान्बा’ (सोचविचार वा ममन-चिन्तन गर्नु) र ‘डान्बा’ (सम्झनु)बाट प्राप्त हुने सूचना नै तामाङ ज्ञानका मुख्य आधार हुन् अर्थात् यी छओटा शब्दहरु तामाङ ज्ञान प्राप्त गर्ने औजारहरु हुन् ।
आउँदा दिनहरुमा गहन ढङ्गले तामाङ ज्ञानको अध्ययन-अनुसन्धान र विश्लेषण हुन आवश्यक छ र सङ्कलित समस्त ज्ञान र अभिलेखहरुलाई अभिलेखन गरिनु पनि अति आवश्यक भइसकेको छ । अत्यन्तै सङ्कटग्रस्त स्थितिमा पुगिसकेका तामाङ ज्ञानलाई कसरी पुनर्लेखन, अभिलेखन र पुस्तान्तरण गर्ने ? यो नै आजको मुख्य चुनौती हो । खस्किदो तामाङ मनोविज्ञानलाई अडाएर कसिलो बनाउनु पनि हो । अबको हाम्रा कार्ययोजना र बहसका विषयवस्तु पनि यिनै हुनुपर्दछ । यसै विषयवस्तु वरिपरि यो लेख केन्द्रित रहेको छ ।
२. तामाङ ज्ञानका औजारहरु
ज्ञानको अर्थ कुनै मूर्त वा अमूर्त वस्तुको बारेमा परिचय प्राप्त गर्नु हो । कुनै वस्तुको बारेमा यथार्थ जान्नु ज्ञान हो । तामाङ भाषामा ज्ञानको लागि ‘सेबा’ शब्दको प्रयोग हुन्छ । ‘सेबा’ पाँच इन्द्रीयद्वारा (आँखाले हेरेर, नाकले सुघेर, कानले सुनेर, जिभ्रोले चाखेर र छालाले छोएर) प्राप्त हुने वा जानिने प्रत्यक्ष ज्ञान हो । यसका साथै प्रयोग गरेर, अध्ययन अनुसन्धान गरेर र अनुभव गरेर बुझ्ने ज्ञान ‘गोबा’ हो । यसर्थ ज्ञानी मान्छेको लागि ‘सेबा गोबा म्हि’ (जान्ने बुझ्ने मान्छे) शब्दवलीको प्रयोग हुन्छ । अर्को शब्द छ ‘स्हेङ्बा’ । यस शब्दको अर्थ आर्थित ज्ञान र अनुभूतिलाई आकार दिनु वा सिर्जना गर्नु हुन्छ । यो भौतिक संस्कृतिको निर्माण र सौन्दर्यबोधतिर उन्मुख छ । यस्तै ‘खेन्बा’ शब्दले ‘कथ्नु’ वा ‘रच्नु’को अर्थ दिन्छ । यो शब्द अभौतिक सांस्कृतिक सिर्जनातिर उन्मुख छ । अर्को शब्द छ- ‘म्हान्बा’ । यस शब्दले सोचविचार गर्नु वा मनन-चिन्तन गर्नु वा विश्लेषण गर्नु जनाउँछ । यसबाट यथार्थ ज्ञानको नजिक पुगिन्छ । तामाङ भाषाको यी पाँचै क्रियापदले प्रत्यक्ष ज्ञानलाई सङ्केत गर्दछ । यस्तै विस्मृत वा ओझेलमा परेका ज्ञानलाई स्मृतिमा ल्याउनु ‘डान्बा’ वा ‘झिबा’ हो । यी छ वटा शब्दबाट प्राप्त हुने जानकारी नै ज्ञान हो अर्थात् यी ज्ञान प्राप्त गर्ने औजार हुन् ।
भर्खरै जन्मेको कुनै शिशु संसारको वस्तुको बारेमा अनभिज्ञ हुन्छ, बढ्ने क्रममा उसले आफ्नो परिवेशका वस्तुहरुसँग क्रमशः परिचय हुँदै जान्छ र ती वस्तुहरुको बारेमा उसले आफूलाई ज्ञानी अनुभव गर्दछ । अनुकुल र प्रतिकुल परिवेशको बारेमा हाँसेर वा रोएर वा बोलेर वा लेखेर वा गरेर आफ्नो प्रतिक्रिया व्यक्त गर्दछ । यी क्रियाकलापको क्रममा उसले आफूलाई ‘सेबा’, ‘गोबा’ र ‘म्हान्बा’ व्यक्तिको रुपमा प्रस्तुत गर्दछ र ‘खेन्बा’ तथा ‘स्हेङ्बा’ क्रियाकलापद्वारा बितेका अनुभव अभिव्यक्त गर्दछ ।
यसबाट के प्रस्ट हुन्छ भने ज्ञान प्रकृति र परिवेशबाट प्राप्त हुन्छ र ज्ञानको प्रयोग, अभ्यास, सामाजिक व्यवहार वा प्रतिक्रियाद्वारा जाँच हुन्छ । यसरी प्राप्त परिवेशीय र अनुभवजन्य ज्ञान माथि पुनः प्रयोग र चाँचबुझ गरेपछि त्यो आधिकारिक ज्ञान हुन्छ र यसैको आधारमा नयाँ नयाँ शास्त्र, ज्ञान-विज्ञान र कलाकौशलको सिर्जना हुन्छ । तामाङहरुले अवलोकन, प्रयोग र अनुभव मार्फत् खारिएको अनुभवजन्य ज्ञानलाई नै वास्तविक ज्ञान मानेका छन् । सेबा, गाबो, म्हान्बा, खेन्बा र स्हेङ्बा क्रिया शब्दले अनुभववादलाई सङ्केत गरेको छ । सुब्बा (२०६८ः७७)ले भने जस्तै तामाङ ज्ञानको लागि पनि संवेदना (Sensation), अववोधन (Perception), मनन-चिन्तन (Reflection), अन्तबोध (Intuition), तर्कवितर्क (Reasoning) र औचित्यस्थापना (Rationallization) बारम्बार अभ्यासका मार्ग हुन् ।
माओत्से तुङले पनि आफ्नो पुस्तक ‘सही विचार कहाँबाट आउँछ ?’मा भनेका रहेछन्- ‘मानिसका सही विचार कहाँबाट आउँछन् ? के ती आकासबाट खस्छन् ? होइन । के ती सहजै उत्पन्न हुन्छन् ? होइन । ती सामाजिक व्यवहारबाट आउँछन् । मानिसको समाजिक अस्तित्वले नै उसको विचारलाई निर्धारण गर्दछ ।’ यस्तै व्यवहारका विषयमा लेख्दछ : ज्ञान अभ्यासबाट सुरु हुन्छ र अभ्यासबाट प्राप्त गरिएको सैद्धान्तिक ज्ञानले फेरि अभ्यासमा नै फर्कनु पर्दछ । ज्ञानको सक्रिय कार्य इन्द्रियग्राह्य ज्ञानबाट वैचारिक ज्ञानमा सक्रिय फड्को मात्र होइन वैचारिक ज्ञानबाट प्रगतिशिल व्यवहारतर्फको फड्कोमा प्रकट हुनै पर्दछ र यो झन बढ्ता महत्वपूर्ण हुन्छ (सिंह २००८ः३६) ।










