मिस तामाङ सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरूलाई क्षमता विकास, व्यक्तित्व विकास, भाषा, भेषभुषा लगायतमा सक्षम बन्न उत्प्रेरणा गराउँछाैं । १३ औँ संस्करणको मिस तामाङ आयोजना हुँदैछ । यसै सन्दर्भमा प्रस्तुत छ आयोजक एभरेष्ट फेशन होमकी अध्यक्ष रन्जिता ब्लोन तामाङसँग सैलुङअनलाइनले गरेकाे संक्षिप्त कुराकानी :
मिस तामाङ १३ औँ संस्करणको सौन्दर्य प्रतियोगिता कसरी अगाडि बढिरहेको छ ?
यो वर्ष २४ जनाले भाग लिएका छन् । १३ औँ चरणको प्रतियोगिताको अहिले क्षमता अभिवृद्धि तालिमहरू भइरहेको छ । हामीले बागमती प्रदेशका १३ जिल्ला लगायत अन्य जिल्लाबाट सहभागीहरूलाई अडिसनमार्फत प्रतिस्पर्धामा ल्याएका छौं । प्रतिस्पर्धीहरूलाई प्रत्येक जिल्लामा गएर अडिसनबाट छनौट गर्ने भनिएपनि यसवर्ष कोभिड–१९ ले गर्दा सम्भव भएन । अर्को वर्षदेखि जिल्ला जिल्लाबाट अडिसन गरेर ल्याउनेछु । अहिले दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर लगायतका सहभागीहरूले तत् जिल्लाको प्रतिनिधित्व गरेका छन् ।
पहिलाको भन्दा यस वर्षको फरक के छ ?
प्रतियोगिताको उद्देश्य एउटै हो । यस वर्षको फरक चाहिँ मोटिभेसनल कक्षा थप गरेका छौं । क्षमता अभिवृद्धिमा अब्बल बनाउने हो । तामाङ भाषा, संस्कृतिलाई प्राथमिकता दिइएको छ ।
मिस तामाङ भइसकेकाहरूले समुदायका लागि के के गरे त ?
मिस तामाङमा सहभागी भइसकेपछि यही बाटोमा हिँड्नु आफ्नो कुरा हो । हामीले बाटो देखाउँछौँ । जस्तो मिस तामाङ २००६ का जेनिशा मोक्तान मिस नेपालसम्म जान सक्षम भयो । त्यस्तै सुमी मोक्तान लगायत यसको उदाहरण हुन् । हामीले उनीहरूलाई समाजको लागि ऐक्यबद्धता चाहिँ गर्छौँ ।

त्यसो त सौन्दर्यमा मात्रै बढी प्राथमिकता भए जस्तो देखिन्छ नि ?
सामाजिक, राजनीतिक क्षेत्रमा कमी भएजस्तो लाग्दैन ? यसमा चाहिँ लाग्छ । हाम्रो हरेक व्यक्तिले राजनीति बुझ्न जरुरी छ भन्छु म । आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा अगाडि बढ्नुपर्छ भन्ने मेरो पनि बुझाइ हो । त्यसको लागि मिस तामाङ पनि एउटा पाटो हुन सक्छ । उनीहरूले लिएका क्षमताबाट त्यो सम्भव छ । मिस तामाङ प्रतियोगिताले यसमा निर्णायक गर्न सकिने यहाँ सहभागी भएपछि सकिन्छ भन्ने मेरो पनि बुझाइ छ ।
एभरेष्ट फेशन होमले कति संस्करण गरेको छ त ?
२००६ को चाहिँ म पनि सहभागी नै हो । २००९ पछि निरन्तर एभरेष्ट फेशन होमले गरिरहेको हो ।
यसवर्षको मिस तामाङ प्रतियोगिताको सुरुआतमै तामाङ पहिरनबारे सामाजिक सञ्जालमा प्रश्न उठायो नि ?
यसमा चाहिँ उनीहरूको सोच सङ्कुचित भएर हो । गल्ती मानिसमा हुन्छ । हाम्रो सुमिले लगाएको पहिरनमा प्रश्न गरेको हो । सामाजिक सञ्जालमा यसबारे आएको प्रतिक्रियालाई मैले सकारात्मक लिएको छु । मलाई सुधार्ने मौका मिल्यो । अहिले हामीले यसमा सुधार गरिरहेका छौँ । बाहिर जे आउँछ त्यसको पछि लाग्नुभन्दा पनि वास्तविकता के छ ? त्यो बुझ्न चाहिँ आग्रह गर्छु । यसले के पाठ सिकायो भने सौन्दर्य प्रतियोगितामा सबैको चासो रहेछ भन्ने चाहिँ स्पष्ट देखियो ।










