होमपेज » समाचार » सामुदायिक लघुवित्तको १२औं साधारण सभा चैत २७ मा, पुँजी संरचना परिवर्तनदेखि लेखापरीक्षक नियुक्तिसम्मका प्रस्ताव

सामुदायिक लघुवित्तको १२औं साधारण सभा चैत २७ मा, पुँजी संरचना परिवर्तनदेखि लेखापरीक्षक नियुक्तिसम्मका प्रस्ताव

शुक्रबार, ६ चैत्र २०८२, ०९:१७

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२औं वार्षिक साधारण सभा चैत २७ गते शुक्रबार बिहान ११ बजे आयोजना गर्ने भएको छ। सभा काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित होटल उग्रचण्डीको सभाहलमा बस्ने संस्थाले जनाएको छ।

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। साथै, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू समेत छलफल गरी अनुमोदन गरिनेछ।

त्यसैगरी, कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभाले स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ भने हालको पुँजी संरचनामा परिवर्तन गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने कार्यसूचीमा समावेश गरिएको छ। हाल संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व क्रमशः ६१.११ प्रतिशत र ३८.८९ प्रतिशत रहेकोमा संस्थापक समूहको ८.६५ प्रतिशत शेयर सर्वसाधारणमा रूपान्तरण गरी स्वामित्व अनुपात ५३.७२ प्रतिशत र ४६.२८ प्रतिशत कायम गर्ने प्रस्ताव अघि सारिएको छ।

यस्तै, अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर) सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ। साथै, नियमनकारी निकायबाट प्राप्त निर्देशनअनुसार संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव समेटिएको छ। संस्थाले यी सबै प्रस्तावहरू पारित गर्दै आगामी रणनीतिक दिशा तय गर्ने लक्ष्य लिएको जनाएको छ।