काठमाडौं । प्रभु बैंक लिमिटेड ले ‘Smart Money Talks’ भन्ने मूल नारासहित ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत सञ्चालन गरेको सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले २०८२ चैत २ गतेदेखि सुरु गरेको अभियान ८ गते समापन गरेको जनाएको छ।
बैंकका अनुसार देशभर रहेका आफ्ना २०० भन्दा बढी शाखामार्फत सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरिएको हो। यस क्रममा बालबालिका, युवा, महिला तथा स्थानीय समुदायलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम, प्रभातफेरी तथा जनचेतना अभियान सञ्चालन गरिएको थियो।
‘Smart Money Talks’ अभियानअन्तर्गत सहभागीलाई आधुनिक बैंकिङ प्रणाली, बचतको महत्व, जिम्मेवार ऋण प्रयोग, लगानीका आधारभूत सिद्धान्त तथा विद्युतीय बैंकिङ सेवाको सुरक्षित प्रयोगबारे जानकारी प्रदान गरिएको बैंकले जनाएको छ। साथै, डिजिटल कारोबार बढ्दै गएको सन्दर्भमा साइबर सुरक्षासम्बन्धी सचेतना पनि फैलाइएको थियो।
बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत समेत वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रसारण गर्दै अज्ञात स्रोतबाट प्राप्त लिंक नखोल्न, संवेदनशील विवरण साझा नगर्न तथा डिजिटल ठगीबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस अभियानले वित्तीय पहुँच विस्तार तथा जनचेतना वृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको बैंकको विश्वास छ। प्रदेशगत रूपमा वाग्मतीका ४७, गण्डकीका ५२, लुम्बिनीका १६, कोशीका ३९, मधेशका २९, कर्णालीका १४ र सुदूरपश्चिमका १९ शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।










