होमपेज » समाचार » विश्व क्षयरोग दिवस आज : जनचेतनामूलक कार्यक्रममार्फत सचेतना अभिवृद्धि

विश्व क्षयरोग दिवस आज : जनचेतनामूलक कार्यक्रममार्फत सचेतना अभिवृद्धि

मंगलवार, १० चैत्र २०८२, ११:३७

काठमाडौँ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्ष मार्च २४ मा मनाइने यो दिवस क्षयरोगको रोकथाम, पहिचान र उपचारबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर मनाइन्छ ।

सरकारले सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई पूर्ण रूपमा क्षयरोगमुक्त बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्षको नाराले क्षयरोग नियन्त्रणमा राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई विशेष रूपमा उजागर गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । रोगको समयमै पहिचान र प्रभावकारी उपचार सुनिश्चित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

World Health Organization का अनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । हाल देशभर ६ हजार २४१ स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार सेवा उपलब्ध छ भने ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा निःशुल्क द्रुत परीक्षण सेवा सञ्चालनमा रहेका छन् ।

मन्त्रालयका अनुसार औषधि प्रतिरोधी क्षयरोगको उपचारका लागि ३१ वटा केन्द्र र ९८ वटा उपकेन्द्र सञ्चालनमा छन् । साथै, १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरी कार्यान्वयनमा ल्याइएको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार तीन हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, खकारमा रगत देखिनु, सास फेर्न गाह्रो हुनु, अचानक तौल घट्नु, अत्यधिक पसिना आउनु र अत्यधिक थकान महसुस हुनु जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्छ ।

कमजोर रोगप्रतिरोध क्षमता भएका व्यक्तिहरू, धुमपान, मद्यपान वा लागुऔषध सेवन गर्नेहरूमा क्षयरोगको जोखिम बढी हुने बताइन्छ । साथै, औषधि नियमित र पूरा मात्रा सेवन नगरेमा रोग पुनः देखिन सक्ने भएकाले उपचारमा लापरवाही नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

औषधिको नियमित सेवनबाट क्षयरोग निको हुन सक्ने भएकाले समयमै परीक्षण र उपचार अत्यन्तै आवश्यक मानिन्छ । मन्त्रालयले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै जनचेतना अभिवृद्धि, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रममार्फत क्षयरोग नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सबै स्थानीय तहलाई आह्वान गरेको छ । रासस