काठमाडौं । कालंगा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ ।
कम्पनीले सर्वसाधारण समूहअन्तर्गत जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्यको ४९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।
आयोजना प्रभावित क्षेत्रका रूपमा बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिका वडा नं. ३, ४, ५, ६ र ८, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ तोकिएको छ ।
स्थानीय बासिन्दाले चैत २४ गतेदेखि वैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने चैत १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।
न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यस आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले बझाङ जिल्लामा १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २८ करोड ३० लाख रुपैयाँ रहेको जनाइएको छ । केयर रेटिङ नेपालबाट कम्पनीले ‘बीबी प्लस’ रेटिङ प्राप्त गरेको छ, जसले वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।










