होमपेज » आर्थिक » ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच निःशुल्क मोतिबिन्दु शल्यक्रियाका लागि सहकार्य

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच निःशुल्क मोतिबिन्दु शल्यक्रियाका लागि सहकार्य

बुधबार, ११ चैत्र २०८२, १३:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडतिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूको निःशुल्क मोतिबिन्दु पहिचान तथा शल्यक्रिया गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रतिष्ठानका संस्थापक एवं कार्यकारी निर्देशक डा. सन्दुक रुइटको उपस्थितिमा उक्त समझदारी सम्पन्न भएको हो। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार बैंकको वित्तीय सहयोगमा प्रतिष्ठानले सातै प्रदेशका विभिन्न स्थानमा मोतिबिन्दुका बिरामीहरूको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेछ। साथै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न विद्यार्थीहरूको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकले स्थापनाकालदेखि नै नाफाको एक अंश समाजमा फिर्ता गर्ने परम्परा कायम राख्दै आएको बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरू देशभर विस्तार गर्ने प्रयास भइरहेको उल्लेख गर्दै जहाँबाट नाफा आर्जन गरिन्छ, त्यहीँ समाजप्रति दायित्व पनि उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

त्यस्तै, डा. रुइटले बैंकसँगको सहकार्यलाई दीर्घकालीन र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाउँदै कार्यक्रम सञ्चालनमा पारदर्शिता र सुशासनमा जोड दिइने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले यस्तो सहकार्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित दुवै संस्थाका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठान सन् १९९२ मा स्थापना भएको गैरनाफामूलक संस्था हो। यस संस्थाले आँखा स्वास्थ्य सेवा, अनुसन्धान, शिक्षण तथा समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।