होमपेज » आर्थिक » व्यास नगरपालिकासँग बीमा प्राधिकरणको अन्तरक्रिया, बीमा सचेतनामा जोड

व्यास नगरपालिकासँग बीमा प्राधिकरणको अन्तरक्रिया, बीमा सचेतनामा जोड

बिहीबार, १२ चैत्र २०८२, १२:४४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले तनहुँको व्यास नगरपालिकासँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। “स्थानीय सरकारसँग बीमा” शीर्षकअन्तर्गत आयोजित उक्त कार्यक्रम चैत ११ गते नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय बासिन्दा, उद्यमी, व्यापारी, किसान तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले गरेका थिए।

सो अवसरमा व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख अतिथि तथा उपप्रमुख इन्दिरा दरै र नगर प्रवक्ता सुरेश थापा विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई तीन चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो। पहिलो चरणमा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (NIPS) पोखरा च्याप्टरका अध्यक्ष छविलाल पौडेलले जीवन बीमाको आवश्यकता, महत्व र वर्तमान अवस्थाबारे जानकारी गराए।

दोस्रो चरणमा सोही संस्थाका कोषाध्यक्ष सुरेश रेग्मीले निर्जीवन बीमा अन्तर्गत सम्पत्ति, सवारीसाधन तथा कृषि (विशेषतः सुन्तला खेती) बीमाबारे प्रस्तुति दिएका थिए।

तेस्रो चरणमा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख मिश्रले बीमालाई जोखिम न्यूनीकरण तथा आर्थिक क्षतिबाट जोगिने प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गर्दै आर्थिक स्थायित्वका लागि बीमा अपरिहार्य रहेको धारणा राखे।

कार्यक्रमका क्रममा ‘हामीले सम्पत्ति बीमा गर्ने तर आफ्नै जीवन बीमा किन नगर्ने?’ भन्ने प्रश्नले सहभागीहरूको ध्यानाकर्षण गरेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख न्यौपानेले आगामी बजेटमा बीमा सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले विपद् व्यवस्थापनका लागि छुट्याइने बजेटलाई बीमामार्फत आर्थिक क्षतिको व्यवस्थापनमा उपयोग गर्ने योजना रहेको बताए।

कार्यक्रममा यस्ता सचेतनामूलक गतिविधि स्थानीय तहमा अत्यन्त आवश्यक रहेको औंल्याउँदै आगामी दिनमा प्राधिकरणसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।