नेपालगञ्ज। बाँकेको नेपालगञ्ज लगायत भारतसँग जोडिएका खुला सीमा क्षेत्रमा बर्ड फ्लूको जोखिम देखिएपछि सम्बन्धित निकायले उच्च सतर्कता अपनाएका छन्। जोखिम न्यूनीकरणका लागि भारतबाट कुखुराका चल्ला तथा सेतो अण्डा आयातमा पूर्ण रूपमा रोक लगाइएको छ।
पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा. हरेराम यादवका अनुसार विभिन्न सीमा नाकाबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका कुखुराका चल्ला दैनिकजसो नियन्त्रणमा लिई नष्ट गरिँदै आएको छ। हालसम्म जिल्लाभित्र बर्ड फ्लू पुष्टि नभए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वसावधानीका उपायहरू कडाइका साथ कार्यान्वयन गरिएको उनले बताए।
खुला सीमा क्षेत्रको दुरुपयोग गर्दै केही व्यक्तिहरूले भारतबाट कुखुराका चल्ला तथा अण्डा भित्र्याउने प्रयास गर्ने गरेका छन्। तर सुरक्षाकर्मीको उपस्थिती देखेपछि त्यस्ता सामग्री छाडेर भाग्ने प्रवृत्ति समेत देखिएको जनाइएको छ। यसलाई नियन्त्रण गर्न सीमाक्षेत्रमा निगरानी थप कडा पारिएको छ।
कार्यालयका अनुसार दैनिक रूपमा करिब २० देखि २५ वटा भारतीय ब्रोइलर कुखुरा नष्ट गरिँदै आएको छ। यसले अवैध आयात नियन्त्रणमा सहयोग पुगेको भए पनि जोखिम पूर्ण रूपमा हटिसकेको छैन।
सरकारले कुखुरा तथा कुखुराजन्य वस्तुको आयात–निर्यातमा कडाइ गर्नुका साथै आन्तरिक ढुवानीमा समेत निगरानी बढाएको छ। खुला सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई लक्षित गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्, जसमार्फत बर्ड फ्लूको जोखिम र सावधानीबारे जानकारी दिइँदै आएको छ।
यसैबीच, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगञ्जका वरिष्ठ पशु विकास अधिकृत डा. गणेशबहादुर पुनले पनि चल्ला आयातमा उच्च सतर्कता अपनाइएको जानकारी दिएका छन्। जिल्लाका सुइया, बगौँडा, खडैँचा र जमुनाहा लगायतका सीमा नाकाहरूमा विशेष निगरानी कायम गरिएको छ।
सम्बन्धित निकायले सम्भावित संक्रमण रोकथामका लागि सबै पक्षलाई सतर्क रहन र अवैध आयात–निर्यातमा संलग्न नहुन आग्रह गरेका छन्।










