काठमाडौं । बलिउड फिल्म धुरन्धरः द रिभेन्ज ले प्रदर्शनको ११ दिनमै विश्वव्यापी रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ। फिल्मले हालसम्म १,३६५ करोड भारतीय रुपैयाँ (करिब १४७.८ मिलियन अमेरिकी डलर) कमाइ गर्दै बक्स अफिसमा नयाँ कीर्तिमानतर्फ अघि बढिरहेको छ।
निर्माण पक्षका अनुसार यस कमाइले फिल्मको पहिलो भाग धुरन्धर को लाइफटाइम कलेक्सनसमेत उछिनेको छ। पहिलो भागले विश्वभर करिब १४१.५ मिलियन डलर कमाएको थियो। सिक्वेल रिलिजअघि उक्त फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शन गरिएको थियो।
निर्देशक आदित्य धर को जासुसी–एक्सन शैलीमा बनेको यस फिल्मले भारतमै मात्र करिब ११०.७ मिलियन डलर ग्रस कमाइ गरेको छ। उत्तर अमेरिकी बजारमा भने फिल्मले ऐतिहासिक सफलता हासिल गरेको छ। बाहुबली २ः द कन्क्लुजन को २०.२ मिलियन डलरको रेकर्ड तोड्दै ‘धुरन्धरः द रिभेन्ज’ले २३ मिलियन डलर कमाएको छ। यससँगै हिन्दी भाषाका फिल्मका लागि उक्त बजारमा नयाँ उचाइ स्थापित भएको छ।
ओपनिङ प्रदर्शन पनि उल्लेखनीय रह्यो। फिल्मले पहिलो सप्ताहन्तमा ९८७ सिनेमा हलबाट करिब १० मिलियन डलर कमाएको थियो भने पाँच दिनको विस्तारित ओपनिङमा १४ मिलियन डलर आम्दानी गर्दै नयाँ मापदण्ड कायम गर्यो। यसअघि पठान ले तीन दिनमा ६.९ मिलियन र पाँच दिनमा ९.५ मिलियन डलर कमाएर रेकर्ड बनाएको थियो।
विदेशी बजारतर्फ यूके बाहेक अधिकांश क्षेत्रमा फिल्म शीर्ष स्थानमा छ। यूकेमा भने फिल्मले ४.४ मिलियन डलर कमाउँदै दोस्रो स्थानमा रहेको छ। अष्ट्रेलिया, जर्मनी लगायतका देशमा पनि फिल्मले राम्रो व्यापार गरेको छ। अष्ट्रेलियामा ६ मिलियन अष्ट्रेलियन डलर (४.१ मिलियन अमेरिकी डलर) र जर्मनीमा १ मिलियन डलरभन्दा बढी आम्दानी गरेको छ।
फिल्म अझै चीनमा रिलिज हुन बाँकी छ, जहाँ दंगल १९२ मिलियन डलरसहित सबैभन्दा बढी कमाउने भारतीय फिल्मको रूपमा रहेको छ। यस फिल्ममा रणवीर सिंह दोहोरो भूमिकामा देखिएका छन्। साथै आर माधवन, अर्जुन रामपाल, सञ्जय दत्त र सारा अर्जुनको पनि अभिनय रहेको छ। आदित्य धरद्वारा लेखन, निर्देशन तथा निर्माण गरिएको यस फिल्म बहुभाषिक रूपमा—हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन भइरहेको छ।










