होमपेज » आर्थिक » रिलायबल समृद्धि योजना–२ का इकाई बैशाख २९ गतेदेखि बिक्री खुला

रिलायबल समृद्धि योजना–२ का इकाई बैशाख २९ गतेदेखि बिक्री खुला

सोमबार, १४ बैशाख २०८३, १३:४६

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले ‘रिलायबल समृद्धि योजना–२’ का इकाईहरू बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्काशन गर्न लागेको हो।

रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्ष अवधिको बन्दमुखी (क्लोज–एन्डेड) प्रकृतिको हुनेछ। निष्काशन गरिने कुल १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ। यसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक Reliable Nepal Life Insurance Limited लाई र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ।

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। फण्डको इकाईमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिभित्र सम्पूर्ण इकाई बिक्री नभएमा आवेदन दिने म्याद जेठ १२ गतेसम्म लम्ब्याइने व्यवस्था गरिएको छ।

फण्डको क्रेडिट रेटिङतर्फ, केयर रेटिङ नेपालले कोष प्रवर्द्धकलाई ‘CARE-NP A- (Issuer Rating)’ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘CARE-NP AMC Quality 4+’ रेटिङ प्रदान गरिएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा रहेको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ। उक्त फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ।