होमपेज » आर्थिक » सिद्धार्थ इक्विटी फण्ड २ मा आवेदन दिने म्याद थप

सिद्धार्थ इक्विटी फण्ड २ मा आवेदन दिने म्याद थप

बिहीबार, २४ बैशाख २०८३, १३:१२

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेड ले निष्काशन गरेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ को इकाई खरिदका लागि आवेदन दिने समय थप गरेको छ। क्यापिटलले वैशाख २१ गतेदेखि बिक्री खुला गरेको उक्त सामूहिक लगानी कोषमा अब जेठ ४ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। यद्यपि, मागभन्दा बढी आवेदन परेमा तोकिएको समयअघि नै सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री प्रक्रिया बन्द गरिने बताइएको छ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो। सिद्धार्थ इक्विटी फण्ड २ सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशन गरिएको कुल १० करोड इकाईमध्ये न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिद्धार्थ बैंक लिमिटेड का लागि सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। म्युचुअल फण्ड निष्काशनका लागि गरिएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपाल ले कोष प्रवर्द्धकलाई ‘ICRANP Issuer Rating Triple B Plus’ तथा योजना व्यवस्थापकलाई ‘ICRANP AMC Quality 3 Plus’ रेटिङ प्रदान गरेको जनाएको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।