होमपेज » आर्थिक » एनआईसी एशिया लघुवित्तद्वारा लेखापाल कर्मचारीलाई दक्षता अभिवृद्धि तालिम

एनआईसी एशिया लघुवित्तद्वारा लेखापाल कर्मचारीलाई दक्षता अभिवृद्धि तालिम

बिहीबार, २४ बैशाख २०८३, १३:०५

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्ना विभिन्न शाखा कार्यालयमा कार्यरत लेखापाल कर्मचारीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘बेसिक एकाउन्टिङ एन्ड फाइनान्स म्यानेजमेन्ट’ सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाका अनुसार तालिममा सहभागी कर्मचारीहरूलाई लघुवित्त क्षेत्रमा लेखाको आधारभूत अवधारणा, व्यवहारिक प्रयोग, वित्तीय विवरणहरूको संरचना तथा विश्लेषण, दैनिक लेखा अभिलेख व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको महत्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

तालिमले सहभागीहरूलाई आफ्नो दैनिक कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित तथा परिणाममुखी बनाउन आवश्यक व्यावहारिक ज्ञान र सीप हासिल गर्न सहयोग पुगेको संस्थाले जनाएको छ।

कार्यक्रममा संस्थाको लेखा, वित्त तथा योजना विभागका विभागीय प्रमुख आशिष गौतम ले लेखा व्यवस्थापनका विभिन्न पक्षबारे व्यवहारिक उदाहरणसहित प्रशिक्षण दिएका थिए। उनले वित्तीय अनुशासन कायम राख्दै डिजिटल प्रणालीमार्फत सुरक्षित र पारदर्शी कारोबार सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, विभागका कर्मचारी बिनोद निरौला ले QR Code तथा Bank Reconciliation सम्बन्धी प्राविधिक विषयमा जानकारी दिएका थिए।यस्तै, तालिम तथा ग्राहक संरक्षण विभागका कर्मचारी सुन्दर कुमार बोट ले भाखा नाघेको कर्जाको प्रभाव, कर्जाको सही सदुपयोग तथा समयमै किस्ता भुक्तानीको महत्वबारे सहभागीहरूलाई जानकारी गराएका थिए। कार्यक्रमको सहजीकरणसमेत उनले नै गरेका थिए।

संस्थाले यस्ता तालिम कार्यक्रमहरूले कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै संस्थागत सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।