होमपेज » हेडलाइन » कोलोराडोमा २६५०औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

कोलोराडोमा २६५०औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

बुधबार, २३ बैशाख २०८३, ११:४५

कोलोराडो, अमेरिका  । २६५०औं बुद्ध जयन्तीका अवसरमा Centennial सहरस्थित कम्युनिटी हलमा भव्य कार्यक्रम आयोजना गरिएको छ। स्थानीय बासिन्दा तथा नेपाली समुदायको उल्लेखनीय सहभागितामा भगवान् Gautam Buddha को जन्मजयन्ती श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको हो।

कार्यक्रममा भिक्खु शान्तिदेवको विशेष उपस्थिति रह्यो। उहाँको मार्गदर्शनले कार्यक्रमलाई आध्यात्मिक गहिराइ प्रदान गरेको थियो। कार्यक्रमको सुरुवात शान्त बुद्ध वन्दनाबाट गरिएको थियो भने त्यसपछि गरिएको छोटो मार्गनिर्देशित ध्यानले सहभागीहरूलाई आत्मचिन्तन र आन्तरिक शान्तिको अनुभूति गराएको थियो। साथै, पुण्य अनुमोदनमार्फत सहभागीहरूले सामूहिक रूपमा पुण्य कार्यहरूको स्मरण र आदान–प्रदान गर्दै उत्सवलाई थप अर्थपूर्ण बनाएका थिए।
यसै अवसरमा Aurora सहरकी मेयर प्रो टेम Allison Coombs ले बुद्ध दिवसको औपचारिक घोषणा गर्नुभएको थियो। Mike Coffman द्वारा हस्ताक्षरित घोषणापत्रमा हरेक वर्ष मे ३ लाई “बुद्ध डे पूर्णिमा सेलिब्रेसन” का रूपमा मनाइने उल्लेख गरिएको छ। उक्त घोषणापत्र डिपुटी मेयर कुम्ब्सले वाचन गरी Buddhist Society of Colorado का अध्यक्ष श्याम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा कोलोराडोमा क्रियाशील विभिन्न नेपाली सामाजिक संघ–संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै Helping Hand and Health Education का अध्यक्ष नारायण श्रेष्ठसहितका समाजसेवीहरूको उपस्थिति उल्लेखनीय रह्यो।

कार्यक्रमका अध्यक्ष श्याम श्रेष्ठले अरोरा सहरका मेयर माइक कोफमेन तथा डिपुटी मेयर एलिसन कुम्ब्सप्रति आभार व्यक्त गर्दै बुद्धिस्ट सोसाइटी अफ कोलोराडो नेपाली समुदाय र नेपालको पहिचान प्रवर्द्धनमा महत्वपूर्ण संस्था भएको उल्लेख गर्नुभयो। उहाँले कार्यक्रममा सहभागी सबैलाई स्वागत तथा धन्यवाद व्यक्त गर्नुका साथै खानापान व्यवस्थामा सहयोग पुर्‍याउने दाताहरूप्रति विशेष कृतज्ञता व्यक्त गर्नुभयो।

करिब १६५ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव बिनिशा श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमले शान्ति, करुणा र सहअस्तित्वका मूल्यलाई आत्मसात् गर्दै समुदायबीच आपसी सद्भाव र एकताको सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।