काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वैशाख २१ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। उक्त आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँ मूल्यको ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ। तीमध्ये १० प्रतिशत अर्थात् ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ। यस आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।










