काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई अन्तर्राष्ट्रिय स्तरबाटै पक्राउ गर्न कानुनी प्रक्रियाले गति लिएको छ। उनीहरूविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गराउन नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो (NCB) ले इन्टरपोललाई आवश्यक थप कागजातहरू बुझाएको छ।
के हो पछिल्लो अपडेट ?
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, इन्टरपोलले रेड नोटिस जारी गर्नुअघि केही प्राविधिक र कानुनी स्पष्टता माग गर्दै पत्राचार गरेको थियो। एनसीबीले हालै ती माग गरिएका विवरण र प्रमाणहरू इमेलमार्फत इन्टरपोलको मुख्यालयमा पठाएको छ। “इन्टरपोलबाट थप विवरणको माग भएपछि हामीले आवश्यक फाइलहरू पठाएका छौँ। अब रेड नोटिस जारी हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” प्रहरी स्रोतले भन्यो ।
मुद्दाको पृष्ठभूमि
-
पक्राउ पुर्जी: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा गत २४ चैतमा काठमाडौँ जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
-
विदेश पलायन: चुनावी सरगर्मी र आन्दोलनको राप बढ्दै गर्दा गत १४ फागुनमा ‘उपचार’को बहाना बनाएर उनीहरू सिंगापुर उडेका थिए ।
-
हालको लोकेसन: स्रोतका अनुसार देउवा दम्पती अहिले हङकङमा लुकेर बसेको दाबी गरिएको छ। सिंगापुरबाट ७ चैतमा उनीहरू हङकङ पुगेका थिए र त्यसयता नेपाल फर्केका छैनन् ।
रेड नोटिसपछि के हुन्छ ?
इन्टरपोलले रेड नोटिस जारी गरेमा यसका १९६ सदस्य राष्ट्रहरूले देउवा दम्पतीलाई आफ्नो भूमिमा फेला पार्नासाथ पक्राउ गर्न सक्छन्। पक्राउ परेको खण्डमा उनीहरूलाई कानुनी प्रक्रियामार्फत नेपाल सुपुर्दगी गर्ने बाटो खुल्नेछ।
यसअघि पनि विभिन्न राजनीतिक घटनाक्रम र ‘जेनजी’ आन्दोलनको दबाबपछि देउवा दम्पती विदेश गएका थिए, तर यसपटक पक्राउ पुर्जी नै जारी भएपछि उनीहरूको पुनरागमन अनिश्चित बनेको छ। प्रशासनले उनीहरूलाई स्वदेश फर्काएर कानुनी कठघरामा उभ्याउन अन्तर्राष्ट्रिय समन्वयलाई उच्च प्राथमिकतामा राखेको छ ।










