होमपेज » खेलकुद » गोल्डेनगेट बास्केटबल क्लबले आयोजना गर्दै एसईई विद्यार्थी लक्षित प्रतियोगिता

गोल्डेनगेट बास्केटबल क्लबले आयोजना गर्दै एसईई विद्यार्थी लक्षित प्रतियोगिता

शुक्रबार, १ जेष्ठ २०८३, १३:२९

काठमाडौं । GoldenGate International College अन्तर्गतको गोल्डेन गेट बास्केटबल क्लबले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी जेठ ८ र ९ गते (मे २२–२३, २०२६) बत्तीसपुतलीस्थित कलेज परिसरमा सञ्चालन हुनेछ।

विद्यार्थीहरूमा खेल प्रतिभा पहिचान, प्रोत्साहन तथा राष्ट्रियस्तरको खेलकुद वातावरणसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ। १३ पटक राष्ट्रिय च्याम्पियन बन्न सफल गोल्डेन गेट बास्केटबल क्लबले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास लिएको छ।

प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपैयाँ तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडी (एमभीपी) लाई विशेष रूपमा बास्केटबल जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई वरिष्ठ प्रशिक्षक मनिष नाकर्मी तथा राष्ट्रिय खेलाडीहरूको प्रशिक्षणमा सञ्चालन हुने १५ दिने निःशुल्क बास्केटबल क्याम्पमा सहभागी हुने अवसर समेत प्रदान गरिनेछ। उक्त क्याम्पमार्फत विद्यार्थीहरूले आफ्नो खेलकुद सीप विकास गर्ने अवसर प्राप्त गर्ने कलेजको भनाइ छ।

सहभागी हुने एसईई उत्तीर्ण विद्यार्थीहरूले कक्षा ११ मा विशेष छात्रवृत्तिसहित भर्ना हुने अवसर पाउनेछन्। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई गोल्डेन गेटको १३ पटक राष्ट्रिय च्याम्पियन बास्केटबल क्लबमा आबद्ध हुने अवसर समेत प्रदान गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन प्रति टोली एक हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। इच्छुक टोलीहरूले अनलाइन फारममार्फत दर्ता गर्न सक्नेछन्।

थप जानकारीका लागि:
९८४०३८६७०७ / ९८०३१२२०७०