होमपेज » आर्थिक » खोक्सिकका विपन्न दलित परिवारलाई निःशुल्क विद्युत् जडान

खोक्सिकका विपन्न दलित परिवारलाई निःशुल्क विद्युत् जडान

बुधबार, ६ जेष्ठ २०८३, १०:५८

भोजपुर,  । भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा विपन्न दलित परिवारलाई लक्षित गर्दै निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरिएको छ । वर्षौँदेखि अन्धकारमा जीवन बिताइरहेका परिवारलाई उज्यालोको पहुँचमा ल्याउने उद्देश्यले वडा कार्यालयले कार्यक्रम अघि बढाएको हो ।

वडाध्यक्ष बाचकुमार राईका अनुसार हालसम्म आठ विपन्न दलित परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिएको छ । आर्थिक अभावका कारण विद्युत् सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको उनले बताए ।

“आर्थिक अवस्था कमजोर भएका परिवार अझै पनि विद्युत् सेवाबाट वञ्चित छन्,” वडाध्यक्ष राईले भने, “यस्ता परिवारलाई उज्यालोको पहुँचमा ल्याउन वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको हो ।”

उनका अनुसार विद्युत् सेवा पुगेपछि स्थानीयवासीको दैनिक जीवन सहज हुनुका साथै बालबालिकाको पठनपाठन, घरेलु कामकाज र सुरक्षामा सकारात्मक प्रभाव परेको छ । कार्यक्रमका लागि वडाले रु दुई लाख बजेट विनियोजन गरेको जनाएको छ ।

स्थानीयवासीले पनि वडाको पहलप्रति खुसी व्यक्त गरेका छन् । स्थानीय सुदर्शन गहतराजले विद्युत् सेवा उपलब्ध भएपछि साँझपखको अन्धकार हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको बताए ।

“आर्थिक अभावका कारण घरमा विद्युत् जडान गर्न सकेको थिइनँ,” उनले भने, “वडाको सहयोगमा घरमा बत्ती बल्न थालेपछि दैनिक कामकाजमा धेरै सहज भएको छ ।” अर्का स्थानीय मानबहादुर विश्वकर्माले विद्युत् जडानपछि बालबालिकाको पढाइमा सहज भएको र उज्यालोमा बस्न पाएको बताए ।

वडा कार्यालयका अनुसार वडामा विद्युत् विस्तारको काम करिब ९८ प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी रहेका घरमा पनि विद्युत् जडान गरेर ‘उज्यालो वडा’ घोषणा गर्ने तयारी गरिएको जनाएको छ । रासस