होमपेज » आर्थिक » बिम गाउँमा पक्की पदमार्ग निर्माण, स्थानीयलाई आवतजावतमा सहज

बिम गाउँमा पक्की पदमार्ग निर्माण, स्थानीयलाई आवतजावतमा सहज

बुधबार, ६ जेष्ठ २०८३, ११:२०

म्याग्दी, । मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ र डाँडागाउँमा पक्की पदमार्ग निर्माण गरिएको छ । गाउँको सौन्दर्यकरण तथा स्थानीयवासीलाई सहज आवतजावतको व्यवस्था गर्न बस्तीभित्रका कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो ।

डाँडागाउँकी स्थानीय मङ्गली पुनले पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा र व्यवस्थित बनेको बताइन् । “उकालो–ओरालोमा हिँड्दा चिप्लिएर लड्ने जोखिम थियो, भारी बोकेर हिँड्न पनि कठिन हुन्थ्यो,” उनले भनिन्, “पक्की पदमार्ग बनेपछि गाउँ सफा हुनुका साथै हिँडडुल गर्न सहज भएको छ ।”

उनका अनुसार बर्खायाममा झाडीमा भिज्दै हिँड्नुपर्ने समस्या हटेको छ भने सर्पले टोक्ने जोखिमसमेत कम भएको छ । पदमार्ग निर्माणपछि बिम र डाँडागाउँका २०० भन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष रूपमा सहज भएको स्थानीयवासीले बताएका छन् ।

गण्डकी प्रदेश सरकारको सहयोगमा आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको पदमार्ग निर्माणकार्य चालु आर्थिक वर्षमा सम्पन्न गरिएको हो । पहिलो चरणमा पूर्वाधार विकास कार्यालयमार्फत विनियोजित रु ३० लाख बजेटबाट बिम तल्लोगाउँमा ४२५ मिटर र डाँडागाउँमा २५० मिटर पदमार्ग निर्माण गरिएको थियो ।

एकीकृत सेवा कार्यालयका इन्जिनियर सुमन बोगटीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु १० लाख बजेटबाट तल्लोगाउँमा २९० मिटर नालीसहित पक्की पदमार्ग निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा थप रु १० लाख बजेटबाट डाँडागाउँमा ५५० मिटर पदमार्ग निर्माण गरिएको उनले जानकारी दिए ।

उनका अनुसार पदमार्ग निर्माणका क्रममा तेर्सो भागमा ढुङ्गा बिछ्याइएको छ भने उकालो क्षेत्रमा सिँढीसहित ढलान गरिएको छ । एक दशमलव १० मिटरदेखि एक दशमलव २० मिटर चौडाइको पदमार्गमा मोटरसाइकल र साइकलसमेत सञ्चालन गर्न सकिने डाँडागाउँ पदमार्ग निर्माण समितिका अध्यक्ष भलाराम जुग्जालीले बताए ।

स्थानीय धनकुमार जुग्जालीका अनुसार यसअघि माटोको पदमार्गमा वर्षायाममा हिलो र सुख्खायाममा धुलोको समस्या हुने गरेको थियो । ढलान गरिएको पदमार्गले सरसफाइ तथा आवतजावत दुवै सहज बनाएको उनले बताए ।

बिम र डाँडागाउँ धार्मिक पर्यटकीयस्थल मालिका र प्रभुचेला धुरीको फेदीमा पर्ने बस्ती हुन् । यहाँबाट गुर्जा हिमालको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । स्थानीयवासीसमेत रहेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गाउँलाई सरसफाइमा नमूना बनाउने उद्देश्यले पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । उनले खारा–बिम सडक स्तरोन्नति योजनाअन्तर्गत तल्लोगाउँ र डाँडागाउँभित्रको सडक कालोपत्र गरिने जानकारी पनि दिए । रासस